PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुबईमा बसेर आतं‌कवादी गतिविधि चलाउने होदासहित चार जना बारामा सार्वजनिक



राधेश्याम पटेल

दुबईमा बसेर आतं‌कवादी गतिविधि चलाउने होदासहित चार जना बारामा सार्वजनिक

वीरगन्ज : दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा सहित चार जनालाई बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी कलैयामा सार्वजनिक गरेको छ।
 
प्रहरीले विभिन्न अपराधका मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क टोल बस्ने ४८ वर्षीय समसुल होदा, कलैया–नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर अन्सारी, आपराधिक कार्यमा फोन सम्पर्क भएका व्यक्ति कलैया–४ का २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेश कुर्मीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनीहरुसँगै संलग्न बारा महागढीमाई–१ सेमरातेगछियाका २७ वर्षीय गिरीबाबा भनिन्ने वृजकिशोर गिरीको भने काठमाडौंमा उपचार भइरहेको छ। पुस २४ गते गिरीलाई पर्सा बिजवनिया गाउँबाट ६ राउन्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको थियो भने पुस १५ गते अन्य मोजाहिर, आशिष र उमेश पनि पक्राउ परेका थिए।

नेपाली नागरिकको संलग्नतामा आतंकवादी समूह सक्रिय रहेको खुलेपछि प्रहरीको विशेष ब्युरोले अनुसन्धान शुरु गरेको थियो। ब्युरोको अनुसन्धानमा होदा भारतीय नक्कली रुपैंया कारोबारमा ब्युरको निगरानीका ब्यक्ती भएको र उनी दुबईमा पुगेको खुलेपछि ब्युरोले होदाको सम्पर्कमा रहेका ब्यक्ती मार्फत उनलाई नेपाल फर्काउन पहल गरेको थियो।

भारतीय सुरक्षा निकायले समेत खोजी गरिरहेका होदा आफैं शनिबार नेपाल आएपछि ब्युरोले पक्राउ गरेर प्रारम्भिक बयान सकाएर मुद्दा प्रकृयाका लागी बारा पठाएको थियो।

भारतको बिहार राज्यको रेलवे ट्रयाकमा विस्फोट गराउन नेपाली र भारतीय नागरिकहरु परिचालन गरेको अनुसन्धानबाट खुलेपछि नेपाल र भारत दुवै तर्फका प्रहरीले होदाको खोजी गरिरहेको थियो। भारतीय दुई युवक दिपक र अरुण गत असोज १४ घटस्थापनाका दिन बारा सिम्रौनगढको सीमावर्ती सहर घोडासहनको रेल्वे लिकमा बम राखेर रेल उडाउने योजना थियो। त्यस्तै, विहारको अन्य ठाउँमा पनि बम विस्फोट गराउने योजनाबाट पछाडि हटेपछि काका अरुण र भतिजा दिपकलाई वृजकिशोरले हत्या गरेको प्रहरी समक्ष बयान दिइसकेका छन्।

वृजकिशोर पक्राउ पर्दा उनको देब्रे खुटामा एक गोली लागेको थियो। पाँचै जनामाथि सोमबार बारा जिल्ला अदालतमा प्रहरीले कर्तव्य तथा संगठित अपराध मुद्दा चलाई म्याद थप गरेको छ।
 
सन् २००१ देखि २०११ सम्म मलेसियामा बसेर काम गरेको रकम नेपालमा आएर व्यापार र राजनीति गर्दा सकिएपछि आफू आपराधिक गतिविधिमा लागेको होदाले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्। उनको सम्बन्ध नेपाल, भारत, मलेसिया, दुबई, पाकिस्तानका अन्तर्राष्ट्रिय गिरोहसँग देखिएको तर कुन आपराधिक संगठनसँग होदाको सम्बन्ध छ भन्ने बारेमा प्रहरीले खुलाउन चाहेन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell