काठमाडौं : केही दिनअघि सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न भन्दै पत्र पठायो। तर, आयोग नै यो पत्रसँग स्पष्ट हुन सकेन। पत्रमा बैसाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म निर्वाचन गर्नेगरी तयार थाल्न भनिए पनि मिति नै खुलाइएको छैन। आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी र खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोजिरहेको छ।
पहिलो त स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा पनि आयोग क्लियर हुन सकेको छैन। प्रतिवेदन कार्यान्वयन स्पष्ट नभई स्थानीय तह वा निकाय कुनको निर्वाचन गर्ने स्पष्ट हुँदैन। तर पनि निर्वाचनको तयारीमा जुटिरहेको बताउँदै आएको आयोगले उनै प्रधानमन्त्रीलाई बोलाएर विद्युतीय मतदान प्रणालीबारे जानकारी गराएको छ।
आयोगको मुख्य कार्यालयमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'डेमो भोट' हालेका छन्। उनीसँगै पुगेका पूर्व सभामुख सुवास नेम्वाङ र एमाले नेता माधवकुमार नेपालले पनि निर्वाचन तयारीबारे जानकारी लिँदै मतपेटिका र विद्युतीय प्रणालीमार्फत भोट हाले।