PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सामुदायिक वनमा काठ तस्करी बढ्यो



रासस

गौशाला : महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा वृद्धि भएको छ।

समुदायलाई हस्तान्तरण गरिएको पूर्वपश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निकै बढेको पाइएको छ।

वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयौँ क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेको छ। तस्करीका क्रममा बरामद गरिएको काठ जिल्लाको लक्ष्मीनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन्।

वन गस्तीले खयरमारा५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ। काठ व्यवसायीका अनुसार बरामद काठको बजार मूल्य करिब रु तीन लाख अनुमान गरिएको छ।

बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए।

सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell