काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चुनावका लागि कस्सिएको भन्दै चुनावप्रति शंका नगर्न आग्रह गरेका छन्।
बेलायतको एभिएम कम्पनीले प्रस्ताव गरेको स्मार्टम्याट्रिक प्रविधिको भोटिङ मेसिनको परीक्षणका लागि निर्वाचन आयोगको कार्यालयमा भएको कार्यक्रममा पुगेका प्रधानमन्त्रीले चुनाव हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे।
'निर्वाचन हुने कुरामा कसैले शंकै नगर्नुस्, हामी असन्तुष्टहरुलाई सहमततिमा ल्याएर समयमै चुनाव गर्न प्रतिबद्ध छौं,' प्रधानमन्त्रीले भने, 'असन्तुष्टहरुलाई सहमतिमा ल्याउने वातावरण निर्माणमा राजनीतिक दलसहित सबै पक्षको सहयोग अपेक्षित छ।' उनले 'समयमै चुनाव हुने' भनेर कूटनीतिक भाषा प्रयोग गरे पनि आगामी जेठमा चुनाव हुने/नहुने प्रस्ट पारेनन्।
निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिनका विषयमा छलफल गर्न बोलाउँदा आफूले नै सबै दललाई आयोगमा बोलाउन आग्रह गरेको बताए। 'निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगका विषयमा कार्यक्रम राख्दा मैले नै सबैलाई बोलाऔं भनेर प्रस्ताव राखेको हुँ,' उनले भने, 'यहाँ आउनु भनेकै सबैलाई निर्वाचनका लागि तयार पार्नु हो। त्यसैले सरकार निर्वाचनका लागि प्रतिबद्ध छ।'
निर्वाचन आयोगले अहिले पनि मतदाता नामावली संकलनदेखि र दलहरुको विवरण तथा अडिट सबै इलेक्ट्रोनिक प्रणालीमा गरिरहेको भन्दै उनले भोट पनि इलेक्ट्रिनक प्रणालीबाट नै हुनुपर्ने बताए। 'अहिलेको २१औं शताब्दीको युग भनेको इलेक्ट्रोनिक र प्रविधिको युग हो, त्यसैले निर्वाचनमा पनि इलेक्ट्रोनिक प्रविधि प्रयोग गर्नुपर्छ,' उनको भनाइ थियो।