PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बन्ने भो ७.५ मेगावाट क्षमताको खोरुङ्गा खोला आयोजना



रासस

काठमाडौँ : तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।

आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

कुल रु एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा रु ३७ करोड प्रवर्द्धक संस्थाले र बाँकी रकम माछापुच्छ्रे बैंक लिमिटेडले रु ४० करोड, नेपाल बङ्गलादेश बैंकले रु ३० करोड र जनता बैंकले रु ३० करोड लगानी गर्ने भएका छन्।

स्थानीयवासीलाई १० प्रतिशत सेयर प्रदान गर्ने जानकारी दिँदै प्रबन्ध सञ्चालक डाँगीले आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिने बताए।

तेह्रथुमको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसकोबीच भएर बग्ने खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मङ्सिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र र २०७३ भदौमा उत्पादन अनुमतिपत्र लिइएको थियो। प्राधिकरणसँग वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell