PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सरकारले नगरेपछि जेठ १ र २१ का लागि आयोगले नै गर्‍यो निर्वाचन मिति प्रस्ताव



पहिलोपोस्ट

सरकारले नगरेपछि जेठ १ र २१ का लागि आयोगले नै गर्‍यो निर्वाचन मिति प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्दै आगामी जेठ १ र २१ गते निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आजै पत्र पठाउँदै आयोगले दुई चरणमा स्थानीय चुनावको प्रस्ताव गरेको हो।
 
सरकारले गत २१ गते पठाएको पत्रको जवाफ लेख्दै आयोगले दुई चरणमा स्थानीय चुनाव प्रस्ताव गरेको हो। 'आन्तरिक तयारीका लागि दुई चरणमा चुनावको मिति प्रस्ताव गरेको हो,' निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने।
 
आयोगले सरकारलाई पठाएको पत्रमा थप स्पष्टता समेत मागेको छ। 'सरकारले पठाएको पत्रमा निर्वाचन यो मितिमा गर्ने र त्यसअनुरुप तयारी गर्नु भन्ने उल्लेख थिएन,' सचिव मैनालीले भने, 'त्यसैले आयोगले निर्वाचनको मिति, स्थानीय तहको संख्या, सीमांकन तथा निर्वाचनका लागि आवश्यक खर्च र प्रावधिक तयारीका लागि सरकारबाट स्पष्ट निर्देश होस् भनेर पत्र पठाएका हौँ।' उनले मुख्य तीन वटा विषय महत्वपूर्ण हुने भन्दै तिनै विषयमा सरकारसँग स्पष्टता खोजिएको बताए।
  
'हामीलाई चाहिने तीन विषय हुन्, त्यसमा क्लियर पारिदिन पनि पत्रमा उल्लेख गरेका छौं,' मैनालीले भने, 'निर्वाचन कुन मितिमा गर्ने? हामीलाई मिति चाहियो, बाउण्ड्री कति हो, स्थानीय तहको संख्या सिमाना कति हुने? त्यो त स्पष्ट हुनुपर्‍यो।'
 
आयोगले पठाएको पत्रमा चुनावका लागि आवश्यक खर्च विवरणबारे पनि जानकारी मागिएको छ।
 
निर्वाचनको मिति सरकारले फागुन दोस्रो साताको सुरुवातसम्ममा तोक्दा जेठमा निर्वाचन गर्न सकिने आयोगको भनाइ छ। 'फागुनको ९/१० गतेभित्र मिति घोषणा गर्ने हो भने जेठमा चुनाव गर्न सकिने अवस्था छ,' मैनालील भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell