काठमाडौँ : बैंकिङ कसुरमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं जिल्ला मन्डिखाटार बस्ने ४१ वर्षीय किरण केशर नेपाललाई पक्राउ गरेको हो। निज नेपाललाई पुनरावेदन अदालतले बैंकिङ कसूरको मुद्दामा २०७१ साल बैशाख २९ गते तीन वर्ष कैद र नौ करोड ४१ लाख रुपैयाँ जरिमाना सुनाएको थियो। कैद सजाय भुक्तान नहुँदै नेपाल फरार भएका थिए।
२०६७ असार ३१ गते नेपालले मण्डिखाटारस्थित आफ्नो नामको ८ रोपनी जग्गाको अत्याधिक मूल्याङ्कन गराई धितो राखी हुँदै नभएको सीता खाँडसरी चिनी मिल परियोजनाको लागि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारीसमेतको मिलोमतोमा प्राप्त गरेको कर्जा ९ करोड रुपैयाँ व्यवसायिक रुपले जग्गा कारोबारमा समेत लगानी गरी दुरुपयोग गरेका थिए।