PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पत्रकार महासंघले नै सदस्यता थपेर विवाद ल्याएको केन्द्रीय सदस्यहरुको खुलासा



पहिलोपोस्ट

पत्रकार महासंघले नै सदस्यता थपेर विवाद ल्याएको केन्द्रीय सदस्यहरुको खुलासा

काठमाडौँ : नेपाल पत्रकार महासंघको जिल्ला-जिल्लामा देखिएको विवाद नेतृत्वले नै आफूखुसी सदस्यता थपेका कारण आएको केन्द्रीय सदस्यहरुले खुलाएका छन्। पत्रकार महासंघका तीन केन्द्रीय सदस्यहरुले आज विज्ञप्ति जारी गरी विवाद नभएका जिल्लामा समेत सदस्य थपेर विवाद ल्याएको भन्दै विज्ञप्ति जारी गरेका हुन्।

महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल, दीपेन्द्र कुँवर र रोसन पुरीले मंगलबार विज्ञप्ति निकालेर जिल्ला अधिवेशन आउनै लाग्दासमेत केन्द्रबाट सदस्यहरुको सूची थपेको र त्यसरी सदस्य थप्दा केन्द्रीय समितिलाई समेत जानकारी नदिएको बताएका छन्।

पुस २७ मा बसेको महासंघको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाउँदा संगठन विभागका प्रमुख रहेका महासचिव उजिर मगरले नयाँ सदस्यको सूची ‘पद्धतिगत ढंगले केन्द्रीय समितिमा पेश गर्न नमिल्ने’ बताएको तर केन्द्रीय सदस्यले विरोध गरेपछि अध्यक्ष महेन्द्र विष्टले केन्द्रीय समितमा पेश गर्ने भने पनि अहिलेसम्म नगरेको बताएका छन्। उनीहरुले 'गैर पत्रकार र विदेशी नागरिकले समेत सदस्यता पाएको चर्चा महासंघभित्रै रहेको उल्लेख गरेका छन्। 'यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागवण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको छ।’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, 'को सदस्य बन्दैछ?' भन्ने सिंगो केन्द्रीय समितिलाई थाहा नहुनु दु:खद हो त्यसरी बाँडिने सदस्यता हामीलाई मान्य छैन।'  उनीहरुले असहमति राख्ने ठाउँसमेत नदिएको भन्दै गुनासोसमेत गरेका छन्।

'हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूची पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाइ छ' विज्ञप्तिमा भनिएको छ।

उनीहरुले सदस्यता वितरणबारे केन्द्रीय सदस्यहरुले बाँडेको सदस्यतासमेत केन्द्रीय समितिलाई जानकारी नहुने कारण सोध्दै पूर्व अध्यक्ष तथा पदाधिकारीहरुलाई समेत गुहारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell