PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

तुलसा हत्या : काठमाडौँमा किनेका थिए सुनीलले एसिड, बजारमा तीन सयमा एक लिटर पाइन्छ



सविन ढकाल

तुलसा हत्या : काठमाडौँमा किनेका थिए सुनीलले एसिड, बजारमा तीन सयमा एक लिटर पाइन्छ

काठमाडौँ : एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा सोमबार भैरहवामा मृत्यु भयो। उनलाई उनकै परिचित सुनील कोइरालाले आइतबार मध्यरात एसिड छ्यापेका थिए।

प्रेममा शंका पलाएपछि प्रतिशोध लिन कोइरालाले एसिड छ्याप्ने योजना बनाएका थिए। धादिङ घर भएका कोइरालाले काठमाडौँको एउटा पसलबाट एसिड किनेका थिए। सिसाको बोतलमा राखिएको एसिड लिएर उनी फर्किए। देशभर सहजै रुपमा उपलब्ध हुने यही एसिड  नै तुलसाको लागि प्राण हर्ने हतियार बन्न पुग्यो। 

तुलसा मात्र हैन, हरेक वर्ष महिलालाई एसिड छ्यापी आक्रमण गर्ने घटना हुने गर्छ- 

•    २०७१ साल फागुनमा वसन्तपुरको ट्युसन सेन्टरमा संगीता मगर र सीमा बस्नेतलाई जीवन विकद्वारा एसिड आक्रमण
•    २०७० गोंगबु बानियाँटारमा उर्मिला श्रेष्ठलाई अज्ञात व्यक्तिद्वारा आक्रमण 
•    २०६९ भदौमा काठमाडौंको कोटेश्वर नरेफाँटमा मीरा केसीलाई अज्ञात व्यक्तिले एसिड हाने
•    २०६८ भदौ मोरङकी २२ वर्षीया विमला साहलाई उनकै श्रीमानद्वारा आक्रमण


​देशभर ब्याट्री पसल, साइन्स ल्याबका सामान बेच्ने पसल, ग्यारेज आदि ठाउँ एसिड सहजै किन्न पाइन्छ। बजारमा आधादेखि एक लिटर एसिड तीन सय रुपैयाँसम्ममा किन्न पाइन्छ। 

इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मरासिनी भन्छन्, ‘कानुनमा एसिड किन्नै नपाइने भन्ने छैन। तर पछिल्लो समय यसको गलत प्रयोग हुन थालेको छ।‘ 

प्रहरीले अहिले सुनीलले कुन पसलबाट एसिड किनेका थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ।

छिमेकी देश भारतमा नेपालमा जस्तै सहज एसिड खरिद गर्न पाइँदैन। एसिड आक्रमण बढेपछि त्यहाँ यसलाई हतियारको रुपमा परिभाषित गर्दै बिक्री वितरणमा कडाइ गरिएको छ। भारतमा कसैले एसिड किन्नुपर्योभ भने किन्नेको परिचय खुल्ने कागजात अभिलेखका रूपमा राख्नुपर्ने भारतीय न्यायालयले आदेश दिएको छ।

नेपालमा एसिड सम्बन्धी के छ कानुन?

२०७१ सालमा संगीता मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि यो विषय बहसमा आयो र संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गरी  एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। 




त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र पचास हजारदेखि एक लाख पचास हजाररुपैयाँसम्म जरिवाना गरिने र जरिवानाबापतको पुरै रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।  

अहिले एसिड प्रहारबाट मृत्यु भएमा ज्यान सम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ। 

९ अर्बको एसिड

अस्पताल, साइन्स कलेज लगायत फलाम उद्योग, कर्कटपाता, साबुन उद्योग, सुन व्यापारी, ब्याट्री उद्योगहरूले बढी मात्रामा एसिड चलाउँछन्। व्यापार तथा विकास प्रवर्द्धन केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ९ अर्ब बरावरको एसिड उत्पादन गर्ने केमिकल आयात हुन्छ। ४० देखि ५० प्रकारका एसिड नेपालमा भित्रिने गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell