काठमाडौं : भारत बिहारको रेल्वे ट्रयाकमा विस्फोटको असफल योजना बनाउने नेपाली नागरिक समसुल होदालाई बारा प्रहरीले सार्वजनिक गरेसँगै उनी नेपाली सञ्चारमाध्यमसँगै भारतीय सञ्चारमाध्यममा छाएका छन्।
प्रकरण खुलेको १ महिना भयो तर दुबइमा रहेका होदा २ दिन अगाडि नेपाली सुरक्षा निकायको नियन्त्रणमा आए। उनी नेपाली सुरक्षा निकायको कब्जामा आएको खुलेसँगै नेपाल- भारत दुबैतिरको छापा, विध्युतिय सबैतिर छाएका छन् । प्रस्तुती शैली भने पुरानै छ 'आइएसआइका एजेन्ट, दाउदका गुर्गा, कानपुर रेल घटनाका मास्टरमाइन्ड ।'
दावी मात्रै हो की तथ्य पनि !
जमिम शाह हुन् या युनुस अन्सारी। यी दुबैमाथीको भारतीयपक्षको समान आरोप थियो पाकिस्तानी खुफिया एजेन्सीको योजनामा नेपालमा बसेर भारतविरोधी गतिविधीमा संलग्न। अन्सारी नक्कली भारतीय रुपैंयाको कारोबारमा संलग्न रहेको पुष्टी भयो। हत्या प्रयास असफलहुँदा जोगिए। शाह भने अन्सारीझै भाग्यमानी भएनन्। आरोपकै विचमा मारिए भारतीय अपराधीको गोलीबाट।यो विचमा पाकिस्तानी खुफिया एजेन्सीसँग मिलेर भारत विरोधी गतिविधी गरेको आरोपमा फैजान अहमद,आफताव अन्सारी लगायत आधा दर्जन नेपाली मारिए। भाग्यले बाँचेका युनुस अन्सारीको हत्याको ठेक्का लिएर आएका त्रिलोक सिंहको पक्राउबाट नेपालमा भएका हत्या श्रृखंला आपराधिक समूहको मात्रै संलग्न छैनन भन्ने पनि देखायो नै।

होदा आतंकवादी घटनामा सक्रिय रहेको, उनको सम्पर्क पाकिस्तानी नागरिक सफिसँग रहेको र उनले नै भारत बिहारको एक रेल्वे ट्रयाकमा विस्फोट गराउन भारतीय नागरिकलाई ८ लाखमा ठेक्का दिएको खुलाउने निकाय नेपाल प्रहरीको विशेष ब्युरो हो।
ब्युरोले खुलाएको तथ्यमा टेकेर भारतीय सुरक्षा एजेन्सीले गरेको अनुसन्धानमा थप तथ्य फेला पर्योी र भारतमा पनि ३ जना भारतीय नागरिक पक्राउ परे ।
नेपालको अनुसन्धान निकायले पहिल्याएको तथ्य पुष्टी भयो।
एक महिनापछिको तरङ्ग
होदाको सञ्जाल खुलेको एक महिना बढी भइसक्यो। पुस १३ मा बाराको जंगलमा शव फेला परेका २ भारतीय नागरिक दिपक राम र अरुण रामको हत्याको अनुसन्धाकाक्रममा बारा प्रहरीले दोस्रो दिन उमेशकुमार कुर्मी, मोजाहिर अन्सारी र आशिष सिंहलाई पक्राउ गर्यो।उनीहरुको बयानबाट यी दुबै भारतीय नागरिकको हत्या भएको र यसमा उनीहरुबाहेक अर्का नेपाली नागरिक बृजेशकुमार गिरीको संलग्नता खुल्यो। गिरीको नाम हत्यामा मात्रै खुलेन आतंकवादी घटनामा पनि जोडियो।
त्यो घटनास्थल नेपाल थिएन भारत बिहारको घोडासनको रेल्वे ट्रयाकमा बम राखेको तर प्राविधिक गडबडिले विष्फोट नभएको खुल्यो। बारा प्रहरीका अनुसार आदापुर,नगरदेहीको रेल्वे ट्रयाकमा विष्फोट गराएको तर कुनै क्षती नभएको देखियो।
बाराको जंगलमा जसको शब फेला पर्यो उनीहरुले ३ लाख लिएर बम पड्काउने ठेक्का लिएको खुल्यो। पहिलो प्रयास असफल भएको र दोस्रो योजनाका लागी उनीहरु तयार नभएपछि पोल खुल्ने भयका कारण उनीहरुलाई नेपालमा बोलाएर हत्या गरेको थप खुल्यो। यी सबै तथ्य खुलेसँगै माघ २४ मा काठमाडौंबाट गएको विशेष ब्युरो र बारा प्रहरीको गिरीलाई पक्राउ गर्यो। गिरीको पक्राउपछि होदा यी सबै घटनाका आर्थीक सहयोगी रहेको खुलेको थियो। होदाको नाम खुलेसँगै ब्युरोले डाटाबेस केलाउँदा उनी जाली भारतीय रुपैंया कारोबारका आशंकित र ब्युरोको निगरानीका ब्यक्ती रहेको खुल्यो । यो खुल्दा उनी दुबईमा थिए।
इन्टरपोलको सहयोग कि आत्मसमर्पण ?
विश्वस्तस्तका अनुसार होदा इन्टरपोलको सहायतामा पक्राउ परेर नेपाल ल्याइएको हैन। उनी आफै नेपाल आएका हुन्। उनी शनिवार दुबइबाट नेपाल आए र अनुसन्धान गरिरहेको विशेष ब्युरोले पक्राउ गर्यो। एक दिन काठमाडौंमा राखेर आवश्यक अनुसन्धानपछि ब्युरोले अदालती प्रकृयाका लागी आइतबार बारा प्रहरीलाई जिम्मा लगायो। होदाको आपराधिक गतिविधी खुलेसँगै उनी नेपाली मात्रै भारतीय सुरक्षा एजेन्सीको अनुगमनमा परिसकेका थिए।Nepal police and Indian agency arrested ISI agent Shamshul Hoda, who has links with one of the train blast accused: NIA Sources
— ANI (@ANI_news) February 7, 2017
दुबइमा रहे पनि उनीसँग सम्पर्कमा रहेका केही नेपालमै थिए। होदा नेपाली सुरक्षा निकायको सूचीमा मात्रै हैन भारतीय सुरक्षा निकायका अधिकारी पनि खोजीमा रहेकाले दुबइबाट भारत पूर्याउन सक्ने जोखिम थियो नै। जो ज्यानका लागी सहज हुने थिएन। भारतीय मिडियाले पाकिस्तानी खुफिया एजेन्सी आइएसआई, मुम्बई बम हमलाका दोषी दाउद इब्राहिमसँग उनको नाम जोडेको थियो। नेपाली सुरक्षा एजेन्सीका अधिकारीले दुबईमा बस्दाको सुरक्षा जोखिम र नेपाल आउँदा नागरिकले पाउने ज्यानको सुरक्षाबारे उनी निकट मार्फत दुबईमा सन्देश पठाएपछि उनी आफैं नेपाल आउन राजी भए । आए।
'उनको सम्पर्कमा रहेकाहरुमार्फत पठाएको सन्देशमा उनी बढी विश्वस्त भएपछि आफैं नेपाल फर्किएका हुन्। उनी विमानस्थलमा आएपछि नियन्त्रमा लिइएको हो' विश्वस्तस्रोतले पहिलोपोस्टलाई भन्यो। सिमापार होदाको हंगामा उनी पक्राउ परेपछि नेपालमा रहेका भारतीय दुतावसका केही अधिकारीले उनीसँग आवश्यक जानकारी लिएर नेशनल सेक्युरिटी एजेन्सीका अधिकारीलाई जानकारी पठाइसकेका थिए।
सुरक्षा निकायले होदा पक्राउको घटना गोप्य नै राखेको थियो। सोमबार पहिलोपोस्टले होदा पक्राउ परेको र बारा प्रहरीको हिरासतमा रहेको खुलासा गरेपछि मंगलबार बारा प्रहरीले होदा सहित ४ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्योद। योसँगै नेपाली र भारतीय मिडियाका लागी होदा हटकेक बने । भारत विरोधी गतिविधी र पाकिस्तान जोडिएसँगै पाकिस्तानी खुफिया एजेन्सी र दाउदलाई जोड्ने भारतीय मिडियाको अनिबार्य नियममा होदा प्रकरणमा छुट्ने विषय थिएन र छुटेन।
होदा, पाकिस्तान,आइएसआइ र दाउद

नेपाल-भारत र आतंकवाद
भारतीय आइएसआइ इन्डियन मुज्जाहिद्दिनका दोस्रा ब्यक्ति यासिन भट्कलन पोखरामा पक्राउ परेकै हुन्। पृथकतावादी आन्दोलनका सैन्य कमान्डर निर्मल होजाई नेपालमै फेला परेका हुन्। तेस्रो देशमा रहेका तर सिधै भारत लैजान अप्ठ्यारो हुने बम गुरु र मुम्बई बम हमलाका दोषी अब्दुल करिम टुन्डा युएइमा उपचारका लागी आएको बेला हवाई मार्गबाट नेपाल ल्याएर स्थलमार्गहुँदै भारत लगिएकै हो।तै पनि यस अगाडि भारतमा आतंकवादी गतिविधीको योजना बनाउन संलग्न रहेको भन्दै नेपाली नागरिक पक्राउ परेनन् । जो पोलिए त्यसमा आरोप र दावी नै हावी थियो। तर होदाको हकमा आरोप र दावीमा मात्रै रोकिएन। होदा प्रकरण नेपाली सुरक्षा निकायका लागी गम्भिर विषय बन्यो। बृजकिशोर मार्फत नेपाली र भारतीय नागरिक मिलाएर समूह बनाएर भारत बिहारको घोडासनको रेल्वे ट्रयाकमा बम पड्काउने योजना बनाउन र आर्थीक सहयोग गर्नमा उनको संलग्नता नेपालीपक्षकै अनुसन्धानमा देखियो।
होदाको सम्पर्क पाकिस्तानी नागरिक सफिसँग देखियो। तर पाकिस्तानी नागरिक सफि को हुन् ? आइएसआइ वा दाउदका सहयोगी वा कुनै मुज्जाहिद्दिन समूहका सदस्य ? अझै रहस्यमै छ। होदा प्रकरणले यो भने पुष्टि भयो' आतंकवादसँग नेपाली नागरिको सम्बन्ध अब दावी र आरोप मात्रै रहेन। यो हौवा वा मसलाको विषय मात्रै रहेन अब।
होदा पुग्लान त भारत ?
आजतक लगायत केही भारतीय मिडियाले होदालाई भारतीय सुरक्षा निकायले अनुसन्धानका लागी भारत ल्याउने दावी गरिरहेका छन्। होदा नेपाली नागरिक रहेको पुष्टी हुनु र प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजिनक गर्नुले यो सम्भव देखिन्न।विभिन्न बहानामा भारतीय नागरिकलाई सुटुक्क बुझाए पनि नेपाली कानुन अनुसार नेपाली नागरिकको सुपुर्दगी सम्भव छैन। सार्वजिनक गरिसकेको अवस्थामा केही घटनामाझै लुसुक्क पठाउन पनि सम्भव देखिन्न। उनी विरुद्ध हत्या र संगठित अपराध अभियोगमा अनुसन्धानका लागि अदालतबाट न्यायीक हिरासतको म्याद लिइसकेको अवस्थामा लुसुक्क बुझाउने दुस्साहसी काम नहोला।