PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

​वन कर्मचारीमाथि आक्रमण गर्ने नौ जना थुनामा



रासस

कपिलवस्तु : वन कार्यालय र वन कर्मचारीमाथि आक्रमण गर्न आएका नौ जनालाई जिल्ला वन कार्यालयले पक्राउ गरी थुनामा राखेको छ। 

जिल्लाको शिवराज साझेदारी वन क्षेत्रमा छपान जाँचका क्रममा गएको वन गस्ती टोलीले सो वन क्षेत्रमा पाँचवटा हरियो रुख काटिरहेका व्यक्तिमाथि कारबाही गर्न खोज्दा उनीहरु भागेपछि भोलिपल्ट सो को प्रतिवाद गर्न ठूलो संख्यामा आएका सर्वसाधारणले वन कर्मचारी र साझेदारी वन कार्यालयमा आक्रमण गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा शिवराज नगरपालिका–१० का इरफान खान, सोही स्थानका जफ्फार मुसलमान, गुड्डु मुसलमान, इनाम खान, मोविन खान, दुर्गा चौधरी, शकुल्ला मुसलमान, महफुज मुसलमान र गफ्फार मुसलमान रहका छन् । पक्राउ गरिएका उनीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालयमा थुनामा राखिएको जनाइएको छ। 

वन संरक्षणको काममा संलग्न गरहेका शिवराज साझेदारी वनका पदाधिकारीलाई पनि वन तस्करीमा संलग्न यस्ता समूहबाट ज्यानकै खतरा रहेको समितिका अध्यक्ष जगदम्बाप्रसाद चौधरीले बताए। 

उनीहरुको आक्रमणबाट समितिमा पदाधिकारीहरु र वन कर्मचारीहरु घाइते भएका छन्। यसरी कार्यालयमै आएर आक्रमण गर्ने यस्तो शैली र परिपाटीका कारण आफूहरु असुुरक्षित रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताए। पक्राउ परेका नौ जनामाथि वन ऐनअनुसार थप अनुसन्धान गरी कडा कारबाही गरिने जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले बताए। 

पछिल्लो समय जिल्ला वन कार्यालयले जिल्लाका विभिन्न वन क्षेत्रमा वन गस्ती बढाएपछि दैनिकजसो वन क्षेत्रबाट वन तस्करीमा संलग्न रहेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन्। यसरी पक्राउ पर्ने जो सुकैलाई वन ऐन २०४९ अनुसार शून्यसहनशीलताको आधारमा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell