PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

किन बढ्यो चिनीको मूल्य एक सातामै प्रतिकिलो १० रुपैयाँ?



अमर बडुवाल

किन बढ्यो चिनीको मूल्य एक सातामै प्रतिकिलो १० रुपैयाँ?

काठमाडौं : उखु क्रसिङकै सिजनमा चिनीको मूल्य एक सातामा प्रतिकिलो १० रुपैयाँ बढेको छ। अहिले चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको छ।
 
उखुको उत्पादन कम भएको तथ्यांक देखाउँदै चिनी मिलहरुले एक साताकै अवधिमा दुई पटक गरी प्रतिकिलो ६ रुपैयाँ बढाएका हुन्। मिलले बिक्री गरेको चिनी थोक बिक्रेता हुँदै खुद्रामा अहिले ९० रुपैयाँमा बिक्री भइरहेको छ। स्वदेशी उत्पादन कम हुने र सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको स्टक कम भएको जानकारी पाएपछि चिनीको मूल्य एक सातामै अचाक्ली बढाइएको हो।
 
कर्पोरेशनसँग अहिले तीन हजार टन चिनी मात्रै मौज्दात छ। कर्पोरेशनले अहिले पनि ७९ रुपैयाँमा थोक बिक्रेतालार्इ चिनी बिक्री गरिरहेको छ। चिनी उत्पादकहरुले भने प्रति किलो ८६ रुपैयाँमा थोक विक्रेतालाई बिक्री गरिरहेका छन्। नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले उत्पादकले चिनीको मूल्य एक साताको बीचमा ६ रुपैयाँ बढाएपछि खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको जानकारी दिए।
 
'उत्पादकहरुले मूल्य बढाएपछि खुद्रा व्यवसायीले पनि त्यही अनुसार मूल्य समायोजन गरेर ९० रुपैयाँ खुद्रा मूल्य कायम गरेका छन्,' उनले भने।
 
माघ १५ गतेसम्म प्रतिकिलो ८० रुपैयाँमा चिनी बिक्री भइरहेको थियो। उत्पादकले माघ २० गते भित्र प्रतिकिलो ६ रुपैयाँ चिनीको मूल्य बढाएका थिए।
 
गतवर्ष एक लाख ६७ हजार टन चिनी उत्पादन हुने अनुमान गरे पनि एक लाख ४७ हजार टन मात्रै उत्पादन भएको थियो। यो वर्ष उखु किसानहरु उखुखेती छोडेर अन्य खेतीतर्फ लागेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए।
 
नेपालमा बर्सनि २ लाख ३० हजार मेट्रिक टन चिनीको खपत हुन्छ। नेपाली उत्पादनले गत वर्ष सम्म ६० प्रतिशत माग धाने पनि यो वर्ष ५०/५५ प्रतिशत माग मात्रै धान्ने अनुमान गरिएको छ।यो आधारमा नेपालको माग पूरा गर्न एक लाख टन चिनी आयात गर्नुपर्छ।
 

उखुको मूल्य बढेपछि

संघका अध्यक्ष अग्रवालका अनुसार गत वर्ष किसानले प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँमा उखु बेच्दा चिनीको मुल्य ६० रुपैयाँ किलो थियो। यो वर्ष उखुको मूल्य बढेर प्रति क्विन्टल ५ सय ३१  रुपैयाँ पुगेकोले चिनीको लागत बढेर मूल्य बढेको उनले दाबी गरे।
 
अग्रवालले चिनीको मूल्य निर्धारण गर्ने आधिकारिक निकाय नभएको बताए। अग्रवाल भन्छन्, 'आगामी दिनमा बजारको माग र आपूर्तिका आधारमा चिनीको मुल्य निर्धारण हुन्छ। यति बेला आपूर्ति कम भएकोले नभई उत्पादन लागत बढी भएकाले त्यसको समायोजन गर्न मूल्य बढाइएको हो।'
 

विकल्प साल्ट ट्रेडिङ

चिनीको मूल्य नियन्त्रणका लागि एक मात्रै विकल्प सरकारी संस्थानको साल्ट ट्रेडिङ मात्रै हो। यो संस्थानलार्इ एक प्रतिशत भन्सार शुल्क तिरेर चिनी ल्याउन दिएमा अहिले भइरहेको मूल्य नियन्त्रण गर्न सकिन्छ। विगतमा पनि चिनी उत्पादकले मूल्य बढाउन खोज्दा यही संस्थानलार्इ चिनी आयात गर्न दिएर बजार मूल्यमा हस्तक्षेप गरिएको थियो।
 
अहिले पनि कर्पोरेशनले ७९ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। कर्पोरेशनले चिनीको मूल्य नियन्त्रणका लागि पचास हजार टन चिनी ल्याउने प्रस्ताव आपूर्ति मन्त्रालयमा पेश गरेको छ।तर अहिलेसम्म निर्णय भने हुन सकेको छैन।
 
कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले पचास हजार टन चिनी आयातका लागि आपूर्ति मन्त्रालयमा एक साताअघिनै प्रस्ताव पेश गरेको जानकारी दिए। मन्त्रालयले चिनीमा लाग्ने भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यकुमार श्रेष्ठले बताए।
 
अर्थ मन्त्रालय संस्थान महाशाखामा भने अझै पत्र पुगेको छैन। संस्थान महाशाखाका मोहनसिंह बस्नेतले भने, 'भन्सार छुटका लागि अहिलेसम्म पत्र आएको छैन। पत्र आएपछि भन्सार छुटको प्रक्रियामा जान्छ।'
 
नेपालमा सामान्य समयमा मासिक १५ हजार टन चिनीको माग हुन्छ। दसैं तिहारमा भने मासिक २५ हजार टन सम्म चिनीको माग हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell