
काठमाडौँ : नेपाली युवाहरुको लगानीमा खुलेको रेस्पेक्ट इन्क कम्पनीले नयाँ सामाजिक सञ्चाल मोबाइल एप रेस्पेक्ट ल्याउने भएको छ। एप्स निर्माणको सम्पुर्ण तयारी पूरा भएको र नयाँ वर्ष २०७४ को अवसर पारेर लन्च गर्ने कम्पनीले जनाएको छ।
फेसबुक लगायतका सामाजिक सञ्चालको ठूलो बजार रहेको बेला प्रयोगकर्ता सर्वसाधारण, कर्पोरेट घराना एवं अन्य व्यवसायीलाई उपयोगी प्लेटफर्मको रुपमा रेस्पेक्ट तयार गरेको जनाइएको छ। आफ्नो एपबाट सबैले समयको सदुपयोग गर्दै आवश्यक सूचना र अन्य जानकारी लिन सक्ने कम्पनीको दाबी छ।
हाल इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालहरुमा कम मात्र आवश्यक जानकारी लिने गरेकोमा रेस्पेक्टले त्यसलाई चिर्ने जनाइएको छ। एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताले रेस्पेक्ट चलाउन सक्नेछन्। यसमा मूलतः कम्पनीहरुले नि:शुल्क/स:शुल्क आफ्नो व्यापार प्रवर्द्धन गर्न सक्ने र आम प्रयोगकर्ताले त्यसबाट फाइदा लिने कम्पनीको भनाइ छ।
रेस्पेक्ट सुरुमा नेपाली, अंग्रेजी र जापानी भाषामा आउने र विस्तारै अन्य भाषामा विस्तार गर्ने जनाइएको छ।