
- अनन्त न्यौपाने/राधेश्याम पटेल
भारतले क्वारेन्टाइन जाँचको हवाला दिँदै नेपालबाट छाला निकासीमा यति बेला 'अघोषित नाकाबन्दी' लगाएको छ। भारतले अदुवा, जुट हुँदै अहिले छाला निकासीमा नाकाबन्दी लगाएको हो।
नेपाली उद्योगबाट प्रशोधन गरिएको काँचो छालालाई क्वारेन्टाइन परीक्षण नगरिएको भन्दै सीमावर्ती भारतीय बजार जोगबनीको भन्सार कार्यालयले निर्यात हुन नदिएको हो। जोगबनी भन्सारले नेपाल भारत वाणिज्य सन्धिको हवाला दिँदै पशुपन्छीजन्य वस्तु रक्सौल नाकाबाट मात्रै प्रमाणीकरण हुने भन्दै रोकेको छ। तर रक्सौल नाकाबाट समेत छाला निकासी हुन सकेको छैन।
नेपालबाट निकासी हुने सामानमा विभिन्न बहाना बनाउँदै रोक्ने गरिएको छ। तर भारतीय वस्तु भने कुनै जाँचबिना निर्बाध नेपाल भित्रिने गरेका छन्। ‘छालामा भारतले अघोषित नाकाबन्दी नै गरेको हो,' एसियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीले भने, ‘भारतले नेपालमा उत्पादित छालाको निर्यात रोक्नु भनेको द्विपक्षीय व्यापार सन्धिको उल्लङ्घन हो।' उनका अनुसार यसअघि कहिल्यै क्वारेन्टाइन प्रमाणितको कागजात चाहिँदैनथ्यो। विगत एक वर्षदेखि कहिले विराटनगर त कहिले वीरगन्ज नाकाबाट छालाको निर्यातमा अवरोध गरिएको छ।
सञ्चालक अन्सारीका अनुसार काँचो छाला जाँच गर्ने क्वारेन्टाइन कार्यालय नजिकको भारतीय बजारमा कतै छैन। क्वारेन्टाइन प्रमाणित गर्न नयाँदिल्लीकै प्रयोगशालामा पुग्नुपर्छ। नयाँ दिल्ली पुगेर क्वारेन्टाइन जाँच गराउनु असम्भव र अव्यावहारिक छ। उद्योगीले एक/दुई पटक नलगेका पनि होइनन् तर त्यहाँको क्वारेन्टाइन कार्यालयले आफूहरुको विषय होइन भन्दै परीक्षण गर्नै मानेन। यसपछि जाँच गराउन कोही गएन।
विराटनगरमा काँचो छाला परीक्षण गर्ने क्वारेन्टाइन प्रयोगशाला भए पनि भारतीय भन्सारका अधिकारीले यहाँको प्रतिवेदनलाई मान्यता नदिएको अन्सारी बताउँछन्।
नेपाल सरकारले भारतका सरकारी कार्यालयको प्रतिवेदनलाई मान्यता दिइरहेको सन्दर्भमा भारतीय पक्षले यस मान्यतालाई कायम गर्नुपर्ने उनको आग्रह छ। उद्योगी अन्सारीले नेपालबाट भारततर्फ वार्षिक १ सय करोडको छाला निर्यात हुने गरेको जानकारी दिए। विराटनगरमा छाला प्रशोधनका ४ र वीरगन्जमा ८ वटा उद्योग सञ्चालित छन्।
नेपालमा उत्पादित छाला भारतका अतिरिक्त इटली, चीन, मेक्सिको, ब्राजिल, स्पेन, टर्की, पोर्तुगल र नेदरल्यान्ड लगायतका समुद्रपारका मुलुकमा पनि निकासी गरिन्छ। विदशी विनिमयको मुख्य स्रोत छाला निकासी पनि एक हो।
भारतको हेपाइले उद्योग संकटमा
भारतको अव्यावहारिक निर्णयका कारण उद्योग नै संकटमा परेको छाला व्यवसायी बताउँछन्। नेशनल लेदर उद्योगका हरि गौत्तमले नेपालका अधिकांश छाला उद्योग बन्द हुने अवस्था पुगेको बताए।विभिन्न बहाना देखाउँदै रक्सौलका भन्सार कर्मचारीले अतिरिक्त रकम असुली गर्छन्। रक्सौल अधिकारीले एक ट्रक छाला भारत निकासी गरेबापत तीन महिना पहिले प्रतिट्रक तीनदेखि पाँच हजार घुस लिने गर्थे। अहिले एउटा ट्रकको २०/३० हजार माग्छन्। व्यापारीले पैसा नदिएपछि उनीहरुले छाला निकासी हुन नदिएका हुन्।
भारतीय अधिकारीहरुको रवैयाका बारेमा उद्योग मन्त्रालयमा गएर आग्रह गरिएको ग्लोबल लेदरका सञ्चालक सन्जय अग्रवालले बताए।
बारा, पर्सा औद्योगिक कोरिडरमा नारायणी लेदर इण्डष्ट्रिज, स्टेण्डर लेदर इण्डष्ट्रिज परवानीपुर, मरियम लेदर इण्डष्ट्रिज, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, नेशनल लेदर इण्डष्ट्रिज लिपनीविर्ता र नेशनल लेदर इण्डष्ट्रिज, गण्डक बहुअरी सञ्चालनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए।