पोखरा : बैंक तथा वित्तीय संस्थाले मनोमानी रुपमा ब्याज बढाएकोमा असन्तुष्टि जनाउँदै पोखराका व्यवसायीले बढेको ब्याज नतिर्ने घोषणा गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार भएको भेलाका सहभागीले बैंक तथा वित्तीय संस्थासँग ऋण लिँदा कबुलेभन्दा बढी नतिर्ने घोषणा गरे। संघका अध्यक्ष विश्वशंकर पालिखेले अप्रत्यासित बढाइएको ब्याज घटाउन अर्थमन्त्री, अर्थसचिव र गभर्नरलाई लिखित अनुरोध गरे पनि कुनै पहल नभएपछि यस्तो निर्णयमा पुगेको बताएका छन्।
१५ दिनमा दुई पटकसम्म ब्याज बढेको म्यासेज ग्राहकको मोबाइलमा आउने गरेको र पहिलाको निक्षेपमा भने ब्याज बढाउन वास्तै नगरेपछि असहयोग आन्दोलनको विकल्प नभएको उनको भनाइ छ। ऋणीसँग कबुल भएको भन्दा बढी ब्याज तिर्न असमर्थ रहेको जानकारी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई गराउने निर्णय संघले गरेको छ।
‘सरकार तथा राष्ट्र बैंकलाई अहिले देखिएको समस्या समाधानको लागि फेरि गुहार्ने निर्णय भएको छ,’ अध्यक्ष पालिखेले भने।
जिल्ला/नगर उद्योग वाणिज्य संघ, महासंघ लगायत संघसंस्थालाई समस्याबारे अवगत गराउँदै साझा धारणाका साथ दवाबमूलक कार्यक्रम सञ्चालन गर्ने र समस्या समाधानको लागि अनुरोध गर्ने निर्णय भएको संघका महासचिव दामु अधिकारीले बताए।
छलफलमा सहभागीहरुले एक्कासि ब्याज बढाउनु भनेको ऋण लिँदा गरिएको तमसुकमा ‘बैंकले चाहे एकतर्फी रुपमा नै ब्याजदर बढाउन सक्नेछ’ भन्ने वाक्याशंमा टेकेर ऋणीलाई अप्ठेरोमा पारी ‘मृत्युपत्रमा’ हस्ताक्षर गराउनुजस्तै भएको टिप्पणी गरे।
संघका निवर्तमान अध्यक्ष बिन्दुकुमार थापाले सरकारी बैंकहरुले ब्याज नबढाए पनि निजी क्षेत्रका बैंकले दुईसातामा दुई पटकसम्म ब्याज बढाउँदाको पीडित आफू भएको गुनासो राखे। फेवा विकास बैंकका अध्यक्ष समेत रहेका उनले भने, ‘यो निजी बैंकहरुको मात्र समस्या हैन, राष्ट्र बैंकले तत्काल हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिनुपर्छ।’
बैंकहरुले लगानीमा ब्याजदर बढाउँदा परियोजनाको लागत बढेको र राष्ट्रिय महत्वका परियोजनासमेत यसबाट प्रभावित हुने सहभागीले बताए। मुलकभरका बैंक तथा वित्तीय संस्थामा रहेको बचतको ५० प्रतिशतभन्दा बढी रकम सेना, सञ्चयकोष, दूरसञ्चार लगायतका सरकार मातहतका निकायको रहेकोले त्यस्तो बचतलाई निश्चित दायरामा राख्न व्यवसायीले राष्ट्र बैंकलाई सुझाव दिए।
पर्यटन व्यवसायी गणेशबहादुर थापाले ब्याज बढेको सूचना राति १२ बजे मोबाइलमा पठाउने बैंकहरुलाई निक्षेपकर्ताहरुले नै असहयोग गर्ने अवस्था आइसकेको बताए। उनले भने, ‘साढे ४ प्रतिशतसम्म ब्याज बढाइएको छ, मुद्दतीका निक्षेपकर्तालाई २४ प्रतिशत ब्याज दिन्छौं भनेर बैंकबाट हामीले रकम झिक्न लगाए के अवस्था हुन्छ, त्यतातिर बैंकले सोच्नुपर्छ।’