महेन्द्रनगर (धनुषा) : जनकपुरस्थित एक पसलमा गएराति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
जनकपुरको मिल्स एरियास्थित ताज रुई सेन्टरमा आगलागी भएको हो। आगलागीबाट रु १३ लाखभन्दा बढीको क्षति भएको पीडित पसलेले जनाएका छन्।
जनकपुर उपमहानगरपालिका पुलचोक—१६ बस्ने मोहमद अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा आगलागी भई सम्पूर्ण सरसामानसहित घर जलेर खरानी भएको छ।
रुईको पसल भएकाले आगो एकै छिनमा पूरै घरभरि फैलिएपछि बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाले प्रयास गर्दा पनि समय मै निभाउने प्रयास असफल भएको थियो। काठको घरभित्र सञ्चालन गरेको पसलभित्र रहेको रुई, सिरक, तोसक, लत्ताकपडा, नगदलगायतका सम्पूर्ण सरसामानसहित घर जलेर नष्ट भएको छ।
रेल्बे स्टेसन प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक देवलाल यादवका अनुसार विद्युत् सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।