PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

उपचार गराउने पैसा नहुँदा कुपोषणका कारण एक बालिकाको मृत्यु



रासस

डडेल्धुरा : कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ।
 
मृत्यु हुनेमा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिना छिन्। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए। जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो। डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो।
 
'आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भयो,' मुनाका आफन्त पर्ने धामीले भने।
 
चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहुँदा जान नसकेको उनको भनाइ छ। पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन्।
 
सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell