काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि छानबिन गरिरहेको महाभियोग सिफारिस उपसमितले आज प्रतिवेदन बुझाएको छ।
१५ दिनको समयसीमामा तयार पारिएको प्रतिवेदन समितिसामु पेश गरिएको हो। प्रतिवेदनमा कार्कीमाथि लगाइएको ७ महाभियोगमध्य ४ वटा पुष्टि भएको उपसमितिका संयोजक रामनारायण बिडारीले बताए।
माओवादी केन्द्रका सांसद बिडारी संयोजक तथा नेपाली कांग्रेसका दीपक कुँइकेल र नेकपा एमालेका रेवतीरमण भण्डारी सदस्य रहेको उपसमितिले प्रतिवेदन तयार पारेको हो। छानबिनका लागि उपसमितिले महान्यायाधिवक्ताको कार्यालयसँग पनि आवश्यक परामर्श लिएको थियो।
गत कात्तिक ३ मा १ सय ५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता गरेका थिए।
कार्कीले अख्तियारको दुरुपयोग गरेको, केही चिकित्सकहरुलाई कारबाही गर्न संविधान विपरीत त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको, काठमाडौ विश्वविद्यावलयले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको, राष्ट्रसेवक लगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार र अनुसन्धानको बहानामा अनावश्यक दुःख दिएको, निजको कार्यशैलीसँग असहमत हुने व्यक्ति र संस्थाप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको, आफ्नो पद र हैसियतको दुरुपयोग गरी राष्ट्रसेवक लगायतलाई विभिन्न आदेश तथा निर्देशन दिई आफू अनुकुल प्रशासन संयन्त्रलाई प्रयोग गर्ने दुष्प्रयास गरेको लगायत महाभियोग प्रस्तावमा उल्लेख छ।
सर्वोच्चले कार्कीलाई अयोग्य भन्दै गत पुस २४ गते पदमुक्त गरिसकेको छ।