काठमाडौं : विधि र प्रक्रिया मिचेर नेपाल पत्रकार महासंघले गैरपत्रकारलाई पनि सदस्यता वितरण गरेको भन्दै नेपाल प्रेस युनियनले यसलाई सच्याउन माग गरेको छ।
सदस्यता कसलाई दिइयो र कसले प्राप्त गरिरहेको छ भन्ने जानकारी महासंघकै केन्द्रीय समितिका सदस्यहरु नभएको र मनपरी ढंगबाट करिब तीन हजार नयाँ सदस्यता थपिएको युनियनले जनाएको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा पत्रकारिता पेसाबाट पलायन भई निष्क्रिय रहेका र अन्य पेसामा लागिसकेकाहरुलाई समेत नवीकरण गराई मत सुरक्षित गर्ने प्रपञ्च रचिएको उल्लेख छ।
'महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत कुल्चेर सदस्यता वितरण र नवीकरणमा मनपरी गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'देशभरका ३५ भन्दा बढी शाखामा महासंघको सदस्यतामा भएको अनियमितता, विभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारहरुले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नवीकरण हाम्रा लागि सह्य छैन।'
विभिन्न जिल्लामा विवाद बढ्दै जाँदा स्थानीयस्तरमा पत्रकारहरुले लगाएको तालाबन्दी खुलाउन र समस्या सुल्झाउन युनियनले प्रेरित गरे पनि प्रयासलाई नजरअन्दाज गरी महासंघ नेतृत्वले थप विवाद बढाउन खोजेको आरोप लगाइको छ। गैरनेपाली नागरिकलाई दिएको सदस्यता स्वीकृत गरिएको र दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिइएको युनियनको भनाइ छ।
यस्ता कार्य नसच्चिए शाखाहरुमा परिस्थित काबुबाहिर जान सक्ने तथा केन्द्रीयस्तरमा पनि अप्रिय स्थित उत्पन्न हुन सक्ने भन्दै युनियनले सचेत गराएको छ।