PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

१५ मेगावाट मात्र विद्युत आयात बढाउँदा १२ घन्टाको लोडसेडिङ कसरी झर्‍यो शून्यमा?



पहिलोपोस्ट

१५ मेगावाट मात्र विद्युत आयात बढाउँदा १२ घन्टाको लोडसेडिङ कसरी झर्‍यो शून्यमा?

काठमाडौं : दसैंयता लोडसेडिङ शून्यमा झरे पनि भारतबाट गत वर्षको तुलनामा १५ मेगावाट मात्र थप विद्युत आयात भइरहेको छ।
 
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार गतवर्ष भारतबाट करिब ३४५ मेगावाट विद्युत आयात गरेर लोडसेडिङ अवधिलाई अधिकतम दैनिक १२ घण्टामा सिमित गर्न सम्भव भएको थियो। काफ्लेले गत असारमा छापिएको प्राधिकरणको अर्धवार्षिक प्रकाशन ‘विद्युत’को वर्ष २७ अंक १ मा ‘शुभकामना सन्देश’ दिँदै उक्त जानकारी उल्लेख गरेका हुन्।
 
काफ्लेले प्राधिकरण कार्यकारी निर्देशकबाट हटेपछि सार्वजनिक कार्यक्रमहरुमा गतवर्षको तुलनामा २०० मेगावाट थप बिजुली आयात गर्दा मात्र लोडसेडिङ अन्त्य हुन सक्ने बताएका थिए। तर, प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले अधिकतम ३६० मेगावाटसम्म मात्र विद्युत आयात भइरहेको छ।
 
त्यसबाहेक गतवर्षको हिउँदयता प्राधिकरणको ग्रिड मा १०५ मेगावाट स्वेदशी उत्पादन थपिएको छ। तर, ती सबै परियोजना ‘रन अफ द रिभर (बगेको पानीमा आधारित)’ प्रकृतिका भएको कारण एक तिहाइभन्दा धेरै बिजुली हिउँद याममा उपलब्ध नभएको अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार थपिएको स्वदेशी उत्पादनबाट अहिले ३५ मेगावाट हाराहारी बिजुली मात्र प्राप्त भइरहेको छ।
 
यसरी कूल ५० मेगावाट बिजुली थपेर १२ घण्टाको लोडसेडिङ प्राधिकरणले अहिले शून्यमा झारेको हो। प्रवक्ता अधिकारीका अनुसार गत वर्षको तुलनामा १०० मेगावाट हाराहारी त माग समेत बढेको छ। त्यसलाई समेत व्यवस्थापन गरेर राजधानी, पोखरा लगायत देशका अधिकांश भेगबाट लोडसेडिङ अन्त्य गरिएको अधिकारी बताउँछन्। तराईका केही क्षेत्रमा लोडसेडिङ भए पनि त्यसको अवधि दैनिक दुई घन्टाभन्दा बढी नरहेको उनको भनाइ छ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माग पक्ष व्यवस्थापन र चुहावट नियन्त्रणलाई प्राथिमिकता दिएपछि लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँछन्। केही समयअघि प्रहरीले ठूला व्यवसायिक उपभोक्तासँग मिलेर मिटर बिगारी कम बिजुली खपत देखाउने प्राधिकरणकै कर्मचारी पक्राउ गरेको थियो। यो गिरोह अझ ठूलो हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ।
 

भारतबाट सस्तो बिजुली

१०/११ प्वाइन्टबाट भारतको बिजुली आयात गर्ने गरेकोमा अहिले जहाँ सस्तो छ त्यहाँबाट धेरै ल्याउन थालिएको प्रवक्ता अधिकारी बताउँछन्। गत असारयता ढल्केबर- मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाट १४५ मेगावाटसम्म विद्युत आयात गर्न थालिएको छ।
 
असारसम्म उक्त स्थानबाट ८० मेगावाट मात्र बिजुली आउँथ्यो। त्यहाँबाट १६० मेगावाटसम्म बिजुली आयात गर्न सक्ने सम्झौता भारत सरकारसँग भएको छ।
 
‘ढल्केबर- मुजफ्फरपुरबाट आउने बिजुलीको लागत प्रति युनिट तीन रुपैयाँ ६० पैसा भारु मात्र छ,' अधिकारीले भने, 'त्यसैले महँगो ठाउँबाट हुने आयात घटाएर त्यहाँबाट बढाइएको हो।’ कतिपय ठाउँबाट आयात गर्दा एक युनिट बिजुलीको ६ रुपैयाँ ८ पैसा भारुसम्म तिर्नुपरेको उनी बताउँछन्।
 
अहिले काठमाडौँसम्म ल्याइएको भारतीय बिजुली पनि ढल्केबर- मुजफ्फरपुरबाट आयात गरिएको हो। ढल्केबर-खिम्ती २२० केभिएको प्रशारण लाइन निर्माण पूरा भएपछि अहिले माग अनुसार दैनिक २५ मेगावाटसम्मल भारतको बिजुली काठमाडौं आइरहेको छ।
 
थप बिजुली आयातकालागि भारतको कटैयाबाट नेपाल कुशाहासम्म १३२ केभिएको प्रशारण लाइन निर्माण पूरा भएको छ। यहाँबाट ५० मेगावाट बिजुली आयात हुन सक्छ।
 
त्यस बाहेक रक्सौल परवानीपुर प्रशारणलाइनलाई पनि थप ५० मेगावाट आयात गर्न मिल्ने गरी क्षमता विस्तार भइरहेको छ। दुई सातामा निर्माण पूरा हुने प्रवक्ता अधिकारीले जानकारी दिए।
 
यी दुई स्थानबाट बिजुली आयात र मूल्यको अन्तिम निर्णय भने भइसकेको छैन। यसबारे फेब्रुअरी १३ र १४ मा बस्ने नेपाल र भारतको ऊर्जा मन्त्रालयका अधिकारीको बैठकले निर्णय लिनेछ। बैठक दुई देशबीच बिद्युत व्यापारमै केन्द्रित हुने जनाइएको छ। बैठकमा भाग लिन भारतीय उर्जा सचिवको नेतृत्वमा टोली आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell