PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

दृष्टिविहीन विश्वकप टी-ट्वान्टी क्रिकेटमा नेपाल भारतसँग पराजित



रासस

काठमाडौँ : भारतमा जारी दृष्टिविहीन विश्वकप टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ।
 
आन्द्रा प्रदेशस्थित मूलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो।
 
नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे। त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे।
 
भारतका जाफर इग्बलले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो।
 
भारतका लागि ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए। त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए।
 
जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो। यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो। नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो। जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ।
 
विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell