PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अब मुद्दति खाताको ब्याज बढ्दा बचतको पनि बढाउनुपर्ने



सुदर्शन सापकोटा

अब मुद्दति खाताको ब्याज बढ्दा बचतको पनि बढाउनुपर्ने

काठमाडौं : ठूलावडाले १३ प्रतिशतसम्म ब्याज पाउँदा सर्वसाधारणले साढे दुई प्रतिशत पनि नपाएको भन्दै नेपाल राष्ट्र बैंकले मुद्दति बढ्दा बचत खाताको पनि ब्याज बढ्ने गरी संयन्त्र विकास गर्ने भएको छ।

सर्वसाधारणलार्इ न्यायोचित ब्याज दर दिलाउन राष्ट्र बैंकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याज अन्तर तोक्ने भएको हो। राष्ट्र बैंकले चाँडै ब्याज दर परिवर्तन हुने कल डिपोजिट (माग्ने वित्तिकै ब्याजसहित पैसा फिर्ता गर्नुपर्ने) खातालाई पनि व्यवस्थित गर्ने भएको छ।

'मुद्दतिमा ह्वात्तै बढ्दा बचत खातामा ब्याज नबढेको देखियो' राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, 'यसलाई व्यवस्थित पार्ने बारे छलफल सुरु भएको छ। विभिन्न विकल्पसहित सुझाव दिन नियमन विभागलाई जिम्मा दिएका छौं।'

विभिन्न नामका बचत खाताको ब्याज अन्तर धेरै हुन थालेपछि  राष्ट्र बैंकले २०६७ सालमा पनि अन्तर तोकेको थियो। त्यसबेला विभिन्न बचत खाताहरुको ब्याज अन्तर दुई प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो।

तर बैंकहरुले पुराना बचतकर्तालाई एक/दुई प्रतिशत दिएर नयाँलाई ८/१० प्रतिशतसम्म ब्याज दिने गरेका थिए। खाता राष्ट्र बैंकको कडाइपछि पुराना बचतकर्ताको ब्याज पनि बढेको थियो।

यसपाली भने बैकहरुले संस्थागत र मोटो रकम हुने निक्षेपकर्तालाई १२/१३ प्रतिशतसम्म ब्याज दिन थालेका छन्। बैंकिङ प्रणालीमा २२ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप छ। यसमध्ये तीन खर्ब २९ अर्ब रुपैयाँ संस्थागतहरुको छ। यो निक्षेपमा उनीहरुले १३ प्रतिशतसम्म ब्याज पाउँदै आएका छन्।
 
जबकी कुल निक्षेपमा ४२.८७ प्रतिशत हुन आउने नौं खर्ब ४९ अर्ब रुपैयाँको ब्याज भने २.०४ प्रतशत मात्रै छ। यही असमानतालाई हटाउन राष्ट्र बैकले निश्चित प्रतिशतले मुद्दती खाताको ब्याज बढ्दा बचत खाताको पनि वढ्ने गरि संयन्त्र विकास गर्न लागेको हो।

राष्ट्र बैंक स्रोतहरुका अनुसार, मुद्दती र बचतको ब्याज दरबीचको अन्तर तोक्नु नै उपयुक्त विकल्प हुन सक्नेमा अधिकांश सहमत छन्। तर राष्ट्र बैंकले ब्याज दरमा हस्तक्षेप गरेर खुला बजार सिद्धान्तलाई चुनौती दिन खोज्यो भन्ने आरोपबाट जोगिनका लागि अरु पनि उपयुक्त विकल्प हुन सक्छ कि भनेर थप छलफल भइरहेको स्रोतको दावी छ।

'बचतकर्ता, बैंक र समग्र प्रणालीलाई नै फाइदा पुग्ने गरी उपयुक्त संयन्त्रको विकास गर्ने योजना हो' स्रोतले भन्यो, 'ब्याज दर असमानतामा धेरै नै गुनासाहरु आएकाले केही न केही निर्णय गर्नैपर्ने आवश्यकता छ।'

राष्ट्र बैंक कल डिपोजिटको ब्याज दरलाई बचत खाताभन्दा कम निर्धारण हुने गरि संयन्त्रको विकास गर्ने पक्षमा छ। अहिले कुल निक्षेपमा कल डिपोजिटको हिस्सा १६.४ प्रतिशत छ। कल पोजिटमा संस्थाहरुको होल्ड हुन्छ। यसको ब्याज दर पनि १०/१२ प्रतिशतसम्म पुगेको छ।

राष्ट्र बैंक स्रोतहरुका अनुसार बचत खाताको तुलनामा मुद्दतिको ब्याज दर वढीमा पाँच प्रतिशतसम्म माथि हुने गरि छलफल भइरहेको छ। उदाहरणका लागि एक बर्षे मुद्दति खाताको ब्याज दर १० प्रतिशत हुँदा बचत खाताको ब्याज पाँच प्रतिशत हुने छ। बचतको पाँच प्रतिशत कायम भएमा कल डिपोजिटको योभन्दा केही कम हुने छ।

'तर अहिलेसम्म यति नै अंक तोक्नु पर्छ भनेर टुङ्गो लागिसकेको छैन' स्रोतले भन्यो, 'तर हामी छिट्टै केही न केही व्यवस्था गरेर निर्देशन जारी गर्ने छौं।'

सम्बन्धित समाचार 
बैंक ब्याज : पहुँचवाला पोस्न एघार लाखमाथि ज्यादती



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell