PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​निर्वाचन सम्पन्न गर्न नसके मुलुक राजनीतिक संकटको भुमरीमा –प्रधानमन्त्री



पहिलोपोस्ट

​निर्वाचन सम्पन्न गर्न नसके मुलुक राजनीतिक संकटको भुमरीमा –प्रधानमन्त्री

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले तीन तहको निर्वाचन गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान राजनीतिक भुमरीमा फस्न सक्ने खतरा रहेको बताएका छन्। 

उद्योग संघ चितवनले निर्माण गर्न लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको बुधवार भरतपुरमा शिलन्यास गर्दै उनले भने ‘तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न नसके त्यतिबेला देशको राजनीतिक भुमरी फस्न सक्ने खतरा रहेको छ।’ 

प्रधानमन्त्री दाहालले त्यो कुराको बोध आफूलाई भइसकेको बताउँदै कसैलाई विभेद नगरी सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरेर मुलुकलाई निर्वाचनतर्फ डो¥याउनुपर्नेमा जोड दिए। 

‘हामीले कसैलाई निषेध ग‌र्‌याै र अपमानित ग‌र्‌याै भने राष्ट्रिय एकता र स्वाधीनतामा नै अप्ठ्यारो पर्ने स्थिति छ’ उनले भने ‘हाम्रो राष्ट्रिय एकताको संवेदनशीलतालाई मनन गरेर अगाडि बढ्नुपर्दछ।’ 

प्रधानमन्त्री दाहालले प्रदेश र केन्द्रको निर्वाचन एकै साथ गर्न सकिन्छ भन्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको बताउँदै देशलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति, अलग देशका कुरा गर्ने प्रवृत्तिमाथि कुनै हालतमा छुट दिन नसकिने प्रतिवद्धता व्यक्त गरे। 

‘दुनियाँमा त्यस्तो देश छैन, जसले अलगाद देशको कुरा गरेर हिँड्नेलाई छुट दिन सकोस्’, उनले भने ‘लोकतन्त्रको अहिलेको जमानामा देश टुक्र्याउने कुरा गर्नेलाई छुट दिन सकिँदैन, यसमा सरकार कठोर रुपमा प्रस्तुत हुन्छ, हामी नेपालीको इतिहास स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधीन राज्य रहेको छ।’

प्रधानमन्त्री दाहालले वास्तविक राष्ट्रवाद व्यवहारमा अभिव्यक्त हुनुपर्छ भन्दै राष्ट्रलाई एकताबद्ध गरेर मात्रै राष्ट्रवादको अभिव्यक्ति हुनसक्ने बताए। अहिलेको सरकारलाई मधेस, पहाड, हिमाल जोड्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै उनले यसलाई सरकारले गम्भीर रुपमा लिएको बताए।  

प्रधानमन्त्रीले अहिलेको सरकारको मुख्य एजेण्डा विद्युतीकरण भएको बताउँदै महाभियानमा सकारात्मक र रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गरे। 

प्रधानमन्त्री दाहालले चितवनको विकासका लागि प्याकेज कार्यक्रम पनि आज सोही अवसरमा सार्वजनिक गरेका छन्। जसमा बजेट कम भएका कारण सम्पन्न हुन नसकेका योजना, नयाँ योजना र आगामी केही दिनभित्र निर्णय हुने योजना रहेका छन्। सडक, रङ्गशाला, कभर्डहल, अस्पतालको स्तरवृद्धिलगायतका योजना सो प्याकेजमा रहेका छन्। 

सो अवसरमा उनले चितवन औद्योगिक प्रदर्शनीलाई रु १५ करोड, पश्चिम चितवनको चित्रवन नगरपालिका क्षेत्रमा अत्याधुनिक रङ्गशाला निर्माण गर्न रु ५० करोड बजेट उपलब्ध गराइने तथा शक्तिखोरमा औद्योगिक प्रतिष्ठान निर्माणका लागि आउँदो मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जानकारी दिए। 

दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको प्रदर्शनी केन्द्र रु ३० करोडको लागतमा निर्माण गर्न थालिएको हो। नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा ३० वर्षका लागि भाडामा लिएर आधा निजी र आधा सरकारी अनुदानमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्र अत्याधुनिक र सुविधासम्पन्न हुनेछ। जहाँ १२ महिना स्वदेशी तथा विदेशी उत्पादन प्रदर्शनी गर्न सकिनेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell