काठमाडौं : सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञहरुले सुझाएका छन्।
राष्ट्रिय आविष्कार केन्द्रलगायत संघ–संस्थाले स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाव दिएका हुन्।
निर्वाचन आयोगले सो विषयमा ती यन्त्र विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि वैज्ञानिकले सो माग गरेका हुन्।
राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपाली वैज्ञानिकको क्षमतालाई राज्यले उचित मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै स्वदेशी मेसिनको प्रयोग गर्दा ठूलो रकम विदेशीनबाट जोगिने विचार व्यक्त गरे।
उनले नेपाली मेसिन स्वदेशमा प्रयोग गरी प्रवद्र्धन गर्न सकेमा आगामी दिनमा ती वस्तुको विश्व बजारमा माग बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा इन्जिनियर डा. नन्दविक्रम अधिकारीले नेपाली अनुसन्धानकर्ताले विश्वबजारमा प्रतिस्पर्धा गर्न लायक मतदान यन्त्रको निर्माण गरेकाले त्यसलाई उपयोग गरी नेपाली वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
नेपाली प्रविधि अनुसन्धानकर्ताद्वय राम रिमाल र लक्ष्मण रिमालले यसअघि आफूहरुको मेसिनमार्फत नेपालमा निर्वाचन सम्पन्न गराइसकेकाले चुनावमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनका लागि ती मतदान यन्त्र प्रयोग गर्न आग्रह गरे।
सात वर्ष अगाडि रामलक्ष्मण (दाजुभाई)ले ती मतदान यन्त्र निर्माण गरेका थिए। रासस