चितवन : दक्षिण चितवनको माडीका एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन्। माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
छिमेकी जीवन महतोका छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए। बुधबार तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्दकुमार दुवेदीको नेतृत्वमा प्रहरी घटनास्थलको मुचुल्का उठाएको जनाइएको छ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए।