PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

अपाङ्गमैत्री संरचना निर्माण गर्न माग



रासस

काठमाडौँ : विद्यालय, सरकारी कार्यालय र सडकलगायत हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने माग गरिएको छ।
 
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रद्वारा निर्मित गोङ्गबु नजिकै अपाङ्गता मैत्री सूचना तथा स्रोत केन्द्रको बिहीवार भवन उद्घाटन गर्दै कलाकार तथा समाजसेवीद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान पहुँच र सहभागिता हुनुपर्ने बताए।
 
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव डोरेन्द्र निरौलाले मन्त्रालयले अपाङ्गताको क्षेत्रमा विशेष महत्त्वका साथ काम गर्दै आएको बताउँदै आगामी दिनमा समेत अझै प्राथमिकताका साथ सो क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
 
नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष अनिता विन्दुले पत्रकारिताको माध्यमबाट अपाङ्गताका सवाललाई विशेष चासोका साथ सञ्चारमाध्यममा उठाउने प्रतिबद्धता जनाउँदै अपाङ्ग मैत्री आचारसंहितामा जोड दिइन्।
 
नेपाल अपाङ्ग मानव अधिकार केन्द्र अपाङ्गता भएका व्यक्तिहरूको हकहित, मानव अधिकार संरक्षण, प्रवर्द्धन र वकालत गर्ने उद्देश्यले २०५६ सालमा अपाङ्गता भएका युवाको सक्रियतामा स्थापित एक गैरसरकारी संस्था हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell