
काठमाडौं : संविधान संशोधन निर्वाचन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा छलफल गर्न प्रमुख पाँच दलको बैठक बसिरहेको छ। सिंहदरवारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा जारी बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरु सहभागि छन्।
निर्वाचन मिति घोषणाका लागि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको बाधा फुकाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा बैठक बोलाइएको हो। बैठकमा संविधान संशोधन, निर्वाचन विधेयका रहेको थ्रेसहोल्डलगायतका विवादमा छलफल केन्द्रित छ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययनका लागि सरकारले गठन गरेको समितिले भने असन्तुष्ट रहेको प्रदेश दुईका आठ जिल्लामा सांसद्सँग छलफल गर्ने निर्णय गरिसकेको छ। अध्ययन समितिले आयोगका पदाधिकारीसँग पनि अनौपचारिक रुपमा परामर्श सकेको छ । अध्ययन गरी सुझाव पेश गर्न मन्त्रिपरिषदले समितिलाई १५ दिनको समय दिएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, एमाले उपाध्यक्ष भीम रावल, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल सहभागि छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष बिजयकुमार गच्छदार बैठकमा सहभागि छन्।