PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आइजिपी नियुक्ति विवाद : सत्ता गठबन्धनमा किचलो*



पहिलोपोस्ट

आइजिपी नियुक्ति विवाद : सत्ता गठबन्धनमा किचलो*

काठमाडौं : नेपाल प्रहरीको २५औं महानिरीक्षक (आइजिपी) छनौटबारे नेपाली कांग्रेसभित्रको झगडा सल्टिए पनि त्यही झगडा सत्ता गठबन्धनमा सल्किएको छ।
 
 
पहिले कांग्रेसभित्रै कसलाई आइजिपी बनाउने भन्ने विषयमा तीव्र विवाद देखिएको थियो। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नवराज सिलवालको पक्षमा र सभापति देउवा जयबहादुर चन्दको पक्षमा उभिएपछि विवाद सिर्जना भएको थियो। देउवाले अडान नछोडेपछि निधि मान्न बाध्य भएका छन्। बुधबारदेखि कांग्रेस एक मत भए पनि अहिले त्यही विवादले सत्ता गठबन्धमा खटपट पैदा भएको छ।
 
नेपाल प्रहरीमा एकै दिन भर्ना भएका वर्तमान आइजिपी उपेन्द्रकान्त अर्यालसँगै एआइजीहरु पनि आगामी फागुन २ गते देखि ३० वर्षे सेवा अवधिका कारण 'रिटायर्ड' हुँदैछन्।
 
त्यसैले अर्को व्याचका डिआइजीहरु मध्येबाट आइजिपी हुँदैछन्। डिआइजीहरुमा पहिलो वरीयतामा रहेका नवराज सिलवालको पक्षमा रहेका निधि देउवाले प्रस्ताव अनुसार जयबहादुर चन्दलाई बनाउने अडानमा सहमत भए। उनले आइजिपी बनाउने सहमति प्रधानमन्त्रीसँग गर्ने जिम्मा समेत सभापतिलाई नै छोडेर बाहिरिएका थिए।
 
प्रधानमन्त्री प्रचण्डले देउवाको दबाब छल्न आजको निममित क्याबिनेट स्थगित गरेका छन्। उनले एक नम्बरको लाई छोडेर तीन नम्बरका सिलवालबारे देउवाले नमान्ने हो भने दुई नम्बरका प्रकाश अर्याललाई बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ।
 
देउवा निकट स्रोतका अनुसार उनी निर्णय फेर्ने मुडमा छैनन्। देउवा र प्रचण्डबीच नेपाल प्रहरीमा कांगेसको सिफारिस र सशत्रमा माओवादी केन्द्रको सिफारिस अनुसार आइजिपी चयन गर्ने सहमति भएको छ।
 
बिहीबारको बैठक स्थगित गरे पनि सोमबारअगाडि नै मन्त्रिपरिषद बैठक बस्नुपर्ने बाध्यता छ। फागुन २ मा आइजिपी उपेन्द्रकान्त अर्याल सहितका सबै एआइजीले अवकाश पाउँदैछन्। अवकाशअघि नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने दबाब सरकारमा छ।

(यसअघि मन्त्रिपरिषद्को बैठक स्थगित र अनिश्चित भएको मन्त्रीहरुलाई उद्धृत गर्दै लेखिएको भए पनि अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बसेकोले शीर्षक र समाचार सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell