PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

गाडी र शेयर ऋण नदिने बैंकर्सको निर्णय, गभर्नरको क्लासपछि बैंकर्सले कुनकुन ऋण रोके?



पहिलोपोस्ट

गाडी र शेयर ऋण नदिने बैंकर्सको निर्णय, गभर्नरको क्लासपछि बैंकर्सले कुनकुन ऋण रोके?

काठमाडौं : वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्ने भएका छन्। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन्।
 
अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्था संघका प्रमुखहरु बोलाएर सुध्रिन चेतावनी दिएको थियो। गभर्नर डा. चिरञ्जीवीले नेपाल बैंकहरु नसुध्रिए कारवाही गर्ने अवस्थामा आफू पुगेको भन्दै अनुत्पादक क्षेत्रको ऋणलाई कम गर्न निर्देशन दिएका थिए।

संघको तर्फबाट गभर्नरलाई भेटेर फर्किएको भोलिपल्टै अध्यक्ष अनिल शाहले सञ्चालनमा रहेका सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बिहीबार डाकेर विस्तृत छलफल गरेका छन्। छलफलले तत्काललाई गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ।
 
छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। छलफलको सुरुवातमा गभर्नरसँग भेटका बारेमा शाहले जानकारी गराएका थिए। छलफलमा दुवै उपाध्यक्षहरु किशोर महर्जन र ज्ञानेन्द्र ढुङ्गाना, रत्नराज बज्राचार्य, शशिन जोशीलगायतले बोलेका थिए।
 
'अनुत्पादक क्षेत्रमा कर्जा तत्काललाई रोक्ने कुरा भएको छ,' उपाध्यक्ष महर्जनले भने, 'चालु पुँजीको हकमा भइरहेको क्षमता अनुसार चल्नलाई ऋण दिने, क्षमता बढाएर काम गर्नका लागि ऋण नदिने मोटामोटी अन्डरस्टान्डिङ भएको छ।'
 
गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा तोक्ने अवस्था आइसकेको भन्दै सचेत गराएका थिए। राष्ट्र बैंकले लिएको नीतिलाई पच्छ्याउँदै बैकहरुले अहिले अनुत्पादक शिर्षकमा पर्ने गाडी कर्जा रोक्ने निर्णय गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell