PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

आधुनिक प्रविधिको प्रयोग बढेपछि परम्परागत काठेकोल लोप हुँदै



रासस

तम्घास (गुल्मी) : आधुनिक प्रविधिअन्तर्गत गाउँघरमा आजभोलि आधुनिक मेसिनको प्रयोगसँगै जिल्लामा तोरी र चिउरी पेल्नका लागि प्रयोग गरिँदै आएका परम्परागत काठेकोल लोप हुँदै गएका छन्।
 
केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यति बेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन्। जिल्लाका बडागाउँ, पौदी अमराई, दिगाम, हस्तीचौर बलीथुमलगायत गाविसमा कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन्।
 
स्थानीयस्तरमा पुराना सामग्रीको संरक्षण नभएपछि काठेकोल लोप हुँदै गएको मुसिकोट गाविस७ का रेशम चालिसे बताउँछन्। 'पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण काठेकोल हराउन थालेका हुन्,' उनले भने।
 
विगत एकदशक अगाडिसम्म कृषकले काठेकोलको माध्यमबाट तोरी र चिउरी पेलेर घिउ तेलको जोहो गर्दै आएका थिए। काठेकोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन।
 
तोरी, चिउरी, सरसिउँलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेकोल निकै उपयोगी भएको बलिुथुम९ का मनकुमारी सर्तुङ्गीले बताइन्। गाउँका बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell