PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

छ महिनामा व्यापारघाटा ७१ प्रतिशतले बढ्यो



रासस

काठमाडौँ : चालु आव २०७३/७४ को पहिलो छ महिनाको अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कानुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ। गत आव २०७२/७३ को प्रथम छ महिनाका अवधिमा व्यापारघाटा २६ प्रतिशतले कमी आएको थियो। केन्द्रको प्रारम्भिक तथ्याङ्कानुसार चालु आवको सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब दुई अर्ब ३७ करोड पुगेको छ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब ३२ करोड तथा कुल पैठारीमा ६४.३ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६६ अर्ब पाँच करोड पुगेको छ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन्।

आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, यान्त्रिक तथा पुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, यान्त्रिक तथा पुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell