
एजेन्सी : आप्रवासीलाई एक सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी निर्णय अदालतले खारेज गरेको छ।
नाइन्थ सर्किट कोर्टका तीन जना न्यायाधीशले एक सय २० दिने प्रतिवन्धसँगै सात मुस्लिम देशका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा लगाएको रोक पनि खारेज गरेको छ।
कार्यकारी निर्णय रोक्ने तल्लो अदालतको आदेशविरुद्ध ट्रम्प प्रशासनले अपिल गरेको थियो। अपिल अदालतले पनि निर्णय खारेज हुने आदेश गरेको हो। अपिलको आदेशमा चित्त नबुझे प्रशासनलाई सुप्रिम कोर्ट जाने अधिकार छ।
सञ्चारमाध्यमहरुले आदेश ट्रम्पमाथिको ठूलो झड्का भएको विश्लेषण गरेका छन्।
अपिल अदालतले कार्यकारी निर्णय अमेरिकी संविधान र लोकतान्त्रिक मूल्य विपरित भनेको छ।
ट्रम्पको कार्यकारी आदेशको सर्वत्र विरोध हुँदै आएको छ। कार्यकारी निर्णयबाट ट्रम्प प्रशासनले इरान, इराक, लिविया, सोमालिया, सुडान। सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको थियो। अदालतको आदेशपछि प्रक्रियामा रहेको भिसा जारी हुनेछन्।