PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

हिमालय एयरलाइन्सको काठमाडौँ–क्वालालम्पुर सीधा उडान, करबाहेक २५ हजार तीन सय भाडा



रासस

हिमालय एयरलाइन्सको काठमाडौँ–क्वालालम्पुर सीधा उडान, करबाहेक २५ हजार तीन सय भाडा

काठमाडौँ : निजी क्षेत्रको विमान सेवा हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सीधा उडान सुरु गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे।

नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एयरबस–३२० विमानबाट उडान थालेको हो। आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एयरलाइन्सले जनाएको छ।

क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, यहाँस्थित मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइललगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ।

काठमाडौँ–क्वालालम्पुर दुईतर्फी उडानमा यात्रीले करबाहेक रु २५ हजार तीनसय ७५ मा टिकट खरिद गर्न सक्नेछन्। उक्त विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आगामी फागुन १३ गतेदेखि म्यान्माको पुरानो राजधानी याङ्गुनलाई पनि काठमाडौँसँग सिधा उडानबाट जोड्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell