म्याग्दी : भूकम्पले भत्किएको म्याग्दीको भगवती–३ मा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुननिर्माणका लागि २५ लाख आर्थिक सहयोग जुटेको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको विद्यालयको दुई कोठे भवन पुननिर्माणका लागि समुदाय, प्रवासी र सरकारी निकायबाट सो सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले जानकारी दिए।
जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाख ५० हजार बजेट अपुग भएपछि स्थानीयवासी, पूर्वविद्यार्थी र अन्य सङ्घसंस्थाबाट थप सहयोग जुटाएर भवन निर्माण गर्न लागिएको प्रअ श्रेष्ठले बताए। उनका अनुसार भवन पुननिर्माणका लागि जिविसले सांसद विकास कोषबाट रु तीनलाख ५० हजार, गाविस कार्यालयले रु तीनलाख १० हजार र समुदाय स्तरबाट चारलाख २० हजार प्राप्त भएको हो।
विद्यालयको भवन पुननिर्माणका लागि भगवती–७ का लोकबहादुर भण्डारीले रु एकलाख ११ हजार, ओवीन्द्रराज शर्माले रु ५५ हजार एकसय ११ सहयोग गरेका हुन्।
कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा भवन भत्किएपछि पठनपाठन सञ्चालनमा समस्या भएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको पहलमा आर्थिक स्रोत जुटाएर दुई कोठे पक्की भवन निर्माण कार्य भइरहेको छ।