PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​प्रहरीले बाघ मारेको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन



राधेश्याम पटेल

​प्रहरीले बाघ मारेको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

वीरगन्ज : गत मंगलवार पर्सा प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेको भन्दै प्रहरीले बाघ मारेको घटना छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन भएको छ। क्षेत्रीय वन निर्देशक गणेश झाको नेतृत्वमा उच्चस्तरीय बिहीबार छानविन समिति गठन भएको हो। 

बाघ संरक्षित तथा लोपोन्मुख जनावर भएकाले घटनाबारे विश्व वन्यजन्तु संरक्षण केन्द्रले चासो देखाएको थियो। केन्द्रको चासोपछि छानविन टोली गठन भएको हो।

बाघलाई नियन्त्रण गर्न सकिने अवस्था रहेपनि प्रमुख जिल्ला अधिकारीको आदेशमै बाघलाई गोली प्रहार गरी मारिएको आरोप स्थानीयको छ। तर, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गोली चलाउने प्रहरीलाई आदेश नदिएको बताए । उनले सुरक्षाकर्मीमाथि बाघले आक्रमण गरेका कारण आत्मरक्षाको लागि गोली चलाएको जानकारी आफुले पाएको बताए। 

गत मंगलबार पर्सा वन्यजन्तु आरक्षबाट भागी लखनपुर–७ एकडर्वा गाउँमा बाघ पुगेको खबरपछि नियन्त्रण गर्न गएको पर्सा प्रहरीको टोली र गाउँलेमाथि बाघले आक्रमण गर्दा प्रहरी निरीक्षकसहित ९ जना घाइते भएका थिए। 

घाइते हनेमा ४ सुरक्षाकर्मी र ५ गाउँले छन्। बाघको आक्रमणबाट ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रराज जोशी, महुवन प्रहरीका असई अरुणकुमार झा, तथा स्थानीय मोतीलाल यादव र रघुवीर साह गम्भीर घाइते भएका थिए। गम्भीर घाइतेलाई सोही दिन हेलिकप्टरबाट काठमाडौं पठाई उपचार भइरहेको छ।

प्रहरीको गोली लागि मरेको बाघको बिहीबार पोस्टमार्टम गरी अन्त्योष्टि गरिएको छ। मरेको बाघको छाला, पन्जा र टाउको माथिल्लो निकायमा पठाइएको जिल्ला वन कार्यालय पर्साका प्रमुख चन्द्रदेवलाल कर्णले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell