काठमाडौँ : प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ।
काउन्सिलले काठमाडौँमा आयोजना गरेको विधागत पत्रकारिता सम्वद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तर्क्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिए।
खास गरी विधागत पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन त्यससँग सम्बन्धित सरोकारवालासँग काउन्सिलले पहिलो पटक छलफल गरेको अध्यक्ष कार्कीले बताए।
कार्यक्रममा ‘नेपाल फोरम अफ साइन्स’ जर्नालिस्टका अध्यक्ष छत्र कार्की, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल र शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल लगायतले विधागत पत्रकारितामा देखिएका विकृत्तिलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
‘विधागत पत्रकारिता विशिष्ट आचारसंहिता’ बनाउनेसम्बन्धी काउन्सिलले छलफलसमेत अगाडि बढाउने भएको छ।
कार्यक्रमका सहभागीले पत्रकारितामा अघोषित सिन्डिकेटको विकास भएको, उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्न नसकिएको, विधागत पत्रकारितामा विज्ञ व्यक्तिको अभाव, तालिमको अभाव, नयाँ नीति र समन्वयको अभावलगायतका समस्या रहेकाले त्यसको समाधानका लागि विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थासंग समन्वय गरेर अगाडि बढ्न प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका थिए। रासस