PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

स्ववियु निर्वाचन : यी हुन् राजधानीका बढी झडप हुने क्याम्पस



सविन ढकाल

स्ववियु निर्वाचन : यी हुन् राजधानीका बढी झडप हुने क्याम्पस

काठमाडौँ : देशभरका क्याम्पसमा अहिले चुनावी सरगर्मी बढेको छ। फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन चुनावका कारण अहिले कतिपय क्याम्पसको पठनपाठन बन्द भइसकेको छ। दैनिकजसो अहिले क्याम्पसमा आफ्नो संगठनको पक्षमा नारा जुलुस, भाषणबाजी लगायतका कार्यक्रम भइरहेका छन्। 

क्यापसमा विभिन्न संगठनबीच हुनसक्ने झडपलाई ध्यानमा राख्दै नेपाल प्रहरीले तालिका नै बनाएर प्रहरी परिचालन गर्न थालिसकेको छ। अहिले बिहानदेखि बेलुकासम्म क्याम्पसहरु बाहिर सुरक्षाका लागि प्रहरी तैनाथ छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी छविलाल जोशी अहिले आवश्यकता अनुसार प्रभाग, वृत्त र आवश्यक परेको खण्डमा परिसरबाट नै क्याम्पसमा प्रहरी परिचालन गरेको बताउछँन्। जोशी भन्छन्, ‘जिल्ला प्रशासन कार्यलय लगायत सम्बन्धित निकायसँग छलफल गरेर सुरक्षाको गरिरहेका छौँ।‘

केही दिनअघि लैनचौरको सरस्वति क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच झडप भएपछि प्रहरीले सरस्वति क्याम्पसको सुरक्षामा झनै चासो देखाएको छ। राजधानीका सम्भावित झडप हुने क्याम्पसमा पहिचान गरेर प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ।

यी हुन् राजधानीका बढी झडप हुने क्याम्पस

१. सरस्वति क्याम्पस, लैनचौर – स्ववियु चुनावदेखि अन्य समयमा पनि सरस्वति क्याम्पस बढी झडप र विवाद हुने क्याम्पसमध्येमा पर्छ। स्ववियु चुनाव मिति घोषण भएको केही दिनपछि नै क्रान्तिकारी र अखिलबीच त्यहाँ झडप भइसकेको छ। आजभोलि पनि त्यहाँ दैनिक नारा जुलसका कार्यक्रम भइरहेका छन्।

२. आरआर (रत्नराज्यलक्ष्मी) क्याम्पस, भृकुटीमण्डप :  यो पनि स्ववियु चुनावमा झडप हुने क्याम्पसमा पर्छ। विगतमा भएका चुनावलाई हेर्दा सबैभन्दा बढी अखिल र क्रान्तिकारी बीच झडप भएको देखिन्छ। 

३. पशुपति क्याम्पस, चाबहिल –  नेविसंघको बाहुल्य रहेको पशुपति क्याम्पस पनि सबैभन्दा बढी झडप हुने क्याम्पसमध्येमा पर्छ। पशुपति क्याम्पसमा स्ववियु चुनाव नजिकिएसँगै प्रहरी सुरक्षा बढाइएको छ। चक्रपथ नजिकै भएकाले क्याम्पसको झडपले यातायातलाई सिधै प्रभावित पार्ने गरेको छ। 

४. त्रिचन्द्र क्याम्पस, घण्टाघर–  नेपाली कांग्रेसका नेता उत्पादन गर्ने पहिचान बनाएको त्रिचन्द्र पनि धेरै झडप भइरहने क्याम्पसमध्येमा पर्छ। राजधानीको मुख्य स्थानमा रहेको यो क्याम्पसमा विगतमा नेविसंघ र अखिलबीच सबैभन्दा बढी झडप हुने गरेको छ। यहाँको झडपले राजधानीको ट्राफिक व्यवस्थामा पनि असर पार्ने गर्छ।  

५.मिनभवन क्याम्पस, बानेश्वर – अनेरास्ववियुको पकड रहेको क्याम्पसको रुपमा लिइन्छ  मिनभवन क्याम्पसलाई। यहाँ अनेरास्ववियु र नेविसंघको झडप बढी हुने गरेको छ । 

त्यसैगरी शंकरदेव क्याम्पस, ल क्याम्पस,  महेन्द्ररत्न लगायतका क्याम्पसमा पनि सुरक्षा चुनौति देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell