.jpg)
काठमाण्डौं: फिल्म ‘मधुमालती’ घोषणा भएको छ। बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा रोमान्टिक प्रेमकथामा आधारित फिल्म निर्माणको घोषणा गरिएको हो।
तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने फिल्म यही फागुन १५ बाट छायांकनका लागि फ्लोरमा उत्रने भएको छ। फिल्म शिशिर चालिसेले निर्देशन गर्दैछन्।
फिल्ममा कथा पनि निर्देशक चालिसेकै रहेको छ। उनले कार्यक्रममा भने,'अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिन्छु। मेरो प्रयास उत्कृष्ट फिल्म बनाउनमा रहनेछ।'
शंकर कार्की निर्माता रहेको फिल्मलाई नवराज उप्रेतीले खिच्दैछन्।
रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको लिड अभिनय रहने फिल्ममा संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ।
१ करोड बजेटमा निर्माण हुने भनिएको फिल्मलाई काठमाडौं, ईलाम र हेलम्बुमा खिचिने बताइएको छ। फिल्मको कथा र साहित्यकार रमेश बिकलको 'मधुमालती'को कथा एकअर्कासँग सम्बन्ध नराख्ने पनि फिल्म युनिटले प्रष्ट पारेको छ।