काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेसँगको वार्ता सकारात्मक भएको भन्दै संविधान संशोधन सहज रुपमा हुने बताएका छन्। उद्योग वाणिज्य संघको साधारणसभा उद्घाटका लागि नवलपरासी पुगेका निधिले रिपोर्टर्स क्लवमा पुगेर संविधान संशोधन गरेर चाँडै चुनाव घोषणा हुने बताए।
'मोर्चा-एमाले संवाद सुरु भएको र संवाद सकारात्मक भएको छ,' निधिले भने, 'त्यसैले संविधान सशोधनको प्रस्ताव सफल हुनेमा म विश्वस्त छु।' उनले एमालेले संविधान संशोधनको विषय पहिले नै उठाए पनि मोर्चासँग सम्बन्ध सुधारपछि मात्र संविधान संशोधनमा आउन चाहेको हुनसक्ने बताए।
उपप्रधानमन्त्री निधिले स्थानीय तह वा निकाय जुन कुनै निर्वाचनका लागि कांग्रेस तयार रहेको भन्दै अन्य दहरुसँग सहमति गरे छिट्टै चुनाव घोषणा हुने बताए।
'सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्छ,' निधिले भने, ‘संविधान संशोधनपछि निर्वाचनको माहोल पनि बन्छ सबै तयार हुनेछन्।’
एमालेलाई गाली पनि
संविधान संशोधनमा एमाले आउन लागेका कारण वातावरण सहज बनेको बताएका निधिले यतिको ढिला हुनुमा एमालेको खोक्रो राष्ट्रवाद दोषी रहेको भन्दै गाली गरे।
'एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई यतिका दिनसम्म बन्धक बनायो,' निधिले भने, प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता गरी सीमाङ्कनलगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागिपरेको छ।'
निधिले देश विखण्डनको अभियान चलाउन संविधानले कसैलाई पनि छुट नदिएको भन्दै त्यस्त विखण्डनको अभियान चलाउने जो कसैलाई सरकारले कारबाही गर्ने बताए।