
काठमाडौं : नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा पर्न सफल भएका छन्।
प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका छन्।
उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने २२ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो।
अलआउट क्रिकेटको सूचीमा सन्दीप ३० औं स्थानमा छन्। अलआउटले उनको विवरण आफ्नो वेवसाइटमा राख्दै सन्दीप नेक्स्ट यारिस शाह भएको लेखेको छ।
लेग स्पिन बलिङ गर्ने सन्दीपसँग धेरै ट्रिक्स भएको पनि साइटमा उल्लेख छ।
अष्ट्रेलियन लेजेण्ड स्पिनर शेन वार्नलाई आफ्नो आदर्श मान्ने सन्दीपलाई अर्का अष्ट्रेलियन खेलाडी माइकल क्लार्कलाई प्रभावित गर्न सफल भए। अनी उनै वान डे वर्ल्ड कप विनिङ कप्तानको निमन्त्रणमा अष्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बबाट खेले, क्लार्क एकेडेमीमा प्रशिक्षण लिए।
'सन्दीसँग प्रतिभा छ, यसमा कुनै शंका छैन।' क्लार्कको भनाई उदृत गर्दै अलआउट क्रिकेटले लेखेको छ।
सन्दीपले गत वर्ष बंगलादेशमा भएको यु १९ वर्ल्डकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिए भने प्रतियोगिताभर १४ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहन सफल भएका थिए।
यस्तै अलआउट क्रिकेटले तयार पारेको सूचीको २४ औं स्थानमा अष्ट्रेलियाका बिली स्टानलेके छन्। बिग ब्यासमा अडेलेइड स्ट्राइकरसबाट खेलने २२ वर्षिय स्टानलेके भर्खरै अष्ट्रेलियन टीममा समेत परेका छन्।
यस्तै अलआउट क्रिकेट सन् २०१४ मा नन टेष्ट प्लेइङका उत्कृष्ट ५० क्रिकेटरको सूची तयार पार्दा नेपालका पूर्व कप्तान विनोद दास ४२ औं नम्वरमा परेका थिए।