काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले बैशाखभित्रै चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। साथै उनले चाँडै चुनावको मिति घोषणा नगरे प्रचण्ड नेतृत्वको सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने, ‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन्।’
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार संक्रमणकालीन सरकार भएकोले यसले चुनाव गर्न तथा संविधान कार्यान्वयन गर्न नसके सरकारको कुनै औचित्य नै नहुने बताएका हुन्।
उनले वर्तमान सरकार संविधान कार्यान्वयनको लागि उदासीन बनेको समेत आरोप लगाए। उनले थपे, ‘बैशाखभित्रै चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गर्नुपर्छ, हामीले प्रधानमन्त्रीलाई भेट्दाखेरि बारम्बार यही कुरा आग्रह गरेका छौं।’
रावलले प्रधानमन्त्रीले आफूहरुसँगको भेटमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाए पनि आफूहरु अझै पनि ढुक्क भई नसकेको जिकिर गरे। उनले आफूहरु चुनावको मिति घोषणा चाँडै होस् भन्ने प्रतिक्षामा रहेको बताए।
उनले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको समेत बताए।
रावलले मधेसी मोर्चा लगायत अन्य दलहरुसँग पनि छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नको लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने जनाए।