काठमाडौं : भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा गुन्जन र अथर्वको जोडीले चीनका पेनग्यु र ग्वाङसेन वेनको जोडीलाई ६–४ र ७–६(२) को सेटमा पराजित गरे।
चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको जोडी महिला डबल्स च्याम्पियन बने। फाइनलमा उक्त जोडीले चीनका ना दोङ र मिङलाओ याङको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा हराए।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगितको पुरुष सिंगल्स उपाधिका लागि दुई भारतीय खेलाडीबीच भिडन्त हुने भएको छ।
डबल्सतर्फ उपाधि जितेपछि अथर्व शर्मा सिंगल्सतर्फ भने फाइनल पुग्न सकेनन्। अथर्वलाई सेमिफाइनलमा भारतकै मृत्युञ्जय बदोलाले ६–४ र ६–४ ले हराए भने भारतका कविर मनरायले भारतकै पीयूष सुरेन्द्र सलेकरलाई ६–१ र ६–१ को सीधा सेटमा हराउँदै फाइनलमा स्थान बनाए।
यस्तै महिला सिंगल्समा चीनकी मिङक्यु याङले भारतकी शिभानी स्वरुप इङलेलाई ७–६(३) र ६–१ तथा भारतकी वैदेही चौधरीले चीनकी युजिआओ छेलाई ६–१ र ६–३ ले हराउँदै फाइनलमा प्रवेश गरे।
सर्किट १ अन्तर्गत सिंगल्सको फाइनल शनिबार हुनेछ।