PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

राष्ट्रिय गौरवका आयोजनामा सरकार आफैं लागिपर्छ : प्रधानमन्त्री



रासस

राष्ट्रिय गौरवका आयोजनामा सरकार आफैं लागिपर्छ : प्रधानमन्त्री

वीरगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन्।
 
राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे बाराको निजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए।
 
आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीकै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको उनको भनाइ थियो।
 
आफू प्रधानमन्त्री बनेदेखि नै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैंले बनाउने प्रतिबद्धता व्यक्त गरे।
 
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तनियाबस्ती उठीवास हुने भएकाले सो समस्याप्रति सरकार गम्भीर रहेको उनले बताए। द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै आठ दिनदेखि अनशनमा बसेका स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एक महिनाभित्र सो आयोजनाको काम सुरु हुने भएकाले अनशन तोड्न आग्रह गरे।
 
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण सुरु हुनुपर्ने माग राख्दै स्थानीयवासी माघ २२ गतेदेखि अनशनमा बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell