PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

महेन्द्रको 'कु'पछि हत्या गरिएका सहिदको सम्झनामा शिलान्यासको दुई दशकसम्म पनि बनेन उद्यान



रासस

इलाम : शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन।
 
विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन्। उद्यानका नाममा बर्सेनि करोडौँ बजेट छुट्याएपनि उद्यान निर्माणले गति लिन सकेको छैन।
 
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा प्राण आहुति दिएकाको स्मृतिमा बन्ने भनिएको उद्यान शिलान्यास भएको २१ वर्ष बित्दासमेत अधुरै रहेपछि स्थानीयमा निराशा छाएको सुलुवुङका युवराज पौडेल बताउँछन्। 'प्रजातन्त्रका लागि ज्यान दिने सहिदको सम्मान स्वरूप उद्यान बनाउने कुराले सयौँ गाउँले खुसी थिए,' स्थानीय प्रेमनाछिरिङ राईले भने, 'जुन गतिले उद्यान बन्नुपर्थ्यौ त्यो भएन र २१ वर्ष पुग्दासमेत उद्यान नबन्दा स्थानीय नै अचम्मित छन्।'
 
तत्कालीन सुरक्षा फौजबाट मारिने कांग्रेसका मुक्ति सेनाका सुलुबुङका उदयबहादुर साउदेन, माइपखोरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राईलगायत सहिदको सम्मान र स्मृतिमा बनाउने भनिएको उद्यान अधुरै रहेको छ।
 
पूर्व जिविस सभापति हरि खनालका अनुसार, सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण गर्न लागिएको उद्यान वरिपरि फूलबारी, बगैँचा, चौतारी र बीचमा सहिदस्तम्भ राख्ने योजना थियो।
 
शिलान्यासपछि धेरैले बिर्सिएको उद्यान बनाउने योजनालाई मूर्तरूप दिन कांग्रेसले २०६६ देखि फेरि प्रयास थालेको थियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको द्वन्द्वोत्तर पुनर्निर्माण कार्यक्रमअन्तर्गत आव २०६७/०६८ मा विनियोजन गरिएको रु सात लाख त्यहाँ खर्च भइसकेको छ। त्यसपछि विनियोजित रु दुई लाख ५० हजार रूपैयाँ भने फ्रिज भएको छ। मन्त्रालयबाट आएको बजेटले उद्यान वरिपरि काँडेतार लगाउने काम भएको छ।
 
एकैपल्ट धेरै बजेट नआउने र कनिकाझैँ थोरैथोरै छुट्टिने समस्याले निर्माणको कामले गति लिन नसकेको स्थानीय शान्ति समितिका पूर्वसंयोजक होम दुलालको भनाइ छ।
 
२०१८ सालमा ज्यान गुमाएका सहिदको स्मृतिमा उद्यान बनाउने भनिएपनि बजेट अभावकै कारण पूरा हुन नसकेको दुलाल बताउँछन्। सशस्त्र सङ्घर्षका क्रममा कांग्रेसको मुक्ति सेनामा हिँडेको र मुक्ति सेनालाई सघाएको आरोपमा सुरक्षा फौजले सात जनाको हत्या गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell