काठमाडौं : गुन्डागर्दीमा संलग्न दावा लामालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति जय नेपाल हलअगाडिको एउटा क्लबमा झगडा गरेको विषयलाई लिएर प्रहरीले लामालाई पक्राउ गरेको हो। बेजाभु नामक नयाँ डिस्कोमा झगडा गर्दै लामाले साहु राम गिरीमाथि कुटपिट गरेका थिए। लामाको कुटाइबाट गिरी घाइते भएका छन्।
लामा सहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरको छ। राति १२ बजेतिर लामाले क्लबका साहुलाई आक्रमण गर्न लागेपछि सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्ण मगरले पहिलोपोस्टलाई जानकारी दिए।
को हुन् दावा?
कुनै बेला गणेश लामाको सहयोगी रहेका दावालामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्। काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागुऔषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।
ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि उनले खुकुरी प्रहार गरेका थिए। काठमाडौंका एक व्यापारीबाट पटकपटक गरी ४० लाखभन्दा बढी उनले लुटेका थिए।