PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गुण्डानाइके लामालाई छुटाउन काठमाडौंका प्रहरी प्रमुख जोशी नै लागिपरे



पहिलोपोस्ट

गुण्डानाइके लामालाई छुटाउन काठमाडौंका प्रहरी प्रमुख जोशी नै लागिपरे

काठमाडौं : गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका दावा लामालाई छुटाउन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी नै लागिपरेका छन्।
 
शुक्रबार राति जय नेपाल हलअगाडिको एउटा क्लबमा झगडा गर्दै गरेको अवस्थामा प्रहरीले दावालाई पक्राउ गरेको थियो। बेजाभु नामक नयाँ डिस्कोका साहु राम गिरीमाथि उनले कुटपिट गरेका थिए। राति १२ बजेतिर लामा सहित अन्य दुई जनालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्ण मगरले पहिलोपोस्टलाई जानकारी दिए।
 
पक्राउ परेका दावालाई छुटाउन कांग्रेसका केही नेताले एसएसपी जोशीलाई फोन गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार त्यसपछि उनलेसमेत दरबारमार्ग वृत्तका डिएसपीलाई दावालाई छाड्न दबाब दिएका थिए। पक्राउ परेका लामालाई मुद्दा नचलाई छोड्न जोशीले दबाब दिएका हुन्। यसरी पक्राउ परेका लामालाई संगठित अपराध अन्तर्गत मुद्दा चलाउन सकिन्छ। यसअघि पक्राउ परेको गुन्डा नाइके दीपक मनाङेलाई संगठित अपराध अन्तर्गत नै मुद्दा चलाइएको थियो।

पक्राउ परेका दावा नेपाली कांग्रेस निकट छन्। यसअघि पनि पक्राउ पर्दा केही सांसद उनलाई छुटाउन प्रहरीको शरणमा पुगेका थिए। एसएसपी जोशी गृहमन्त्री र प्रहरी महानिरीक्षक बीचको लामो विवादपछि काठमाडौं परिसर प्रमुख भएर आएका हुन्।
 
कुनै बेला गणेश लामाको सहयोगी रहेका दावालामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्। काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागुऔषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ। ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि उनले खुकुरी प्रहार गरेका थिए। काठमाडौंका एक व्यापारीबाट पटकपटक गरी उनले ४० लाखभन्दा बढी लुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell