
- प्रशन्न पोखरेल
पालुङ्टार (गोरखा) : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक संकट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताएका छन्।
नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले आज पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने ‘नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ।’
आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताए।
संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उनको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उनले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गरे।
हिमाली, पहाडी र मधेसी मिलेर नेपाललाई बलियो, समृद्ध बनाउनुपर्नेमा देउवाले जोड दिनुभयो । काँग्रेस, माओवादी केन्द्रको संयुक्त सरकारले निर्वाचन गराएरै छाड्ने उनको भनाइ थियो ।
साथै, गोरखा, धादिङ सीमामा बगिरहेको बूढीगण्डकी नदीमा एकहजार २०० मेगावाट क्षमताको बन्ने भनिएको बूढीगण्डकी जलविद्युत् डुबान क्षेत्रका बासिन्दालाई उचित मुआब्जा वितरण गर्न, अनुदान रकम पाउनबाट छुटेका भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहयोग गर्न र पुनःनिर्माणमा सघाउन काँग्रेसले पहल गर्ने देउवाले बताए।
‘यही सरकारले निर्वाचन गर्छ’
सोही आमसभामा बोल्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले पुष्पकमल दाहाल नेतृत्वको यही सरकारले स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउने भन्दै चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। नेकपा (एमाले) का नेताहरुले नक्कली राष्ट्रियताको मुद्दा उठाएर भोट बढाउने खेल खेलेकोमा सचेत हुनुपर्नेमा उनले जोड दिए। पालुङ्टारमा स्मार्ट सिटी बनाउनेबारे आफूले पहल गरिरहेको र छिट्टै सरकारले ठोस निर्णय गर्ने उनको भनाई छ।
‘चुनावको विकल्प छैन’
यसैगरी, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य गगन थापाले स्थानीय निर्वाचन वैशाख अन्तिम साता र प्रदेश, केन्द्रको निर्वाचन पछि एकैपटक गर्नेगरी सरकार निर्वाचनको मिति घोषणा गरी अघि बढ्नुपर्नेमा जोड दिए। मन्त्री थापाले भने ‘कुनै अलमल बिना संविधान कार्यान्वयनमा जुट्नुपर्छ । संविधान कार्यान्वयनका लागि तीनवटा निर्वाचन गर्नु जरुरी छ । केन्द्रमा निर्वाचन गर्ने माहोल हामी बनाउँछौँ । स्थानीयस्तरमा कार्यकर्ताले निर्वाचनको माहोल बनाउनुप¥यो।’
डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिप्रति इङ्गित गर्दै मन्त्री थापाले नयाँ शक्ति नयाँ हुन नसक्ने बताए। सिके राउतले देश बिखण्डन गर्नेजस्ता कुराहरु गर्दै आएको भन्दै थापाले मधेसका तन्नेरीले नै राउतलाई तह लगाउने पनि बताए।
काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङको अध्यक्षतामा भएको आमसभामा काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काँग्रेस व्यक्ति होइन अभियान भएको बताए। केन्द्रीय सदस्य कमला पन्तले भूकम्पपीडितहरु निजी आवास अनुदान पाउनबाट छुटेको भन्दै पार्टीको केन्द्रीय नेतृत्वले भूकम्पपीडितको समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयन गर्न र प्रजातन्त्रलाई मजबुत बनाउन जसरी पनि निर्वाचन गर्नुपर्ने धारणा राखे। रासस