सिन्धुली : तोस्रामखोला गाविस–७ भञ्ज्याङडाँडामा करेन्ट लाग्दा आज एकजनाको मृत्यु भएको छ।
विद्युत् अवरुद्ध भएपछि ट्रन्सफर्मर बनाउने क्रममा करेन्ट लागेर स्थानीय ४५ वर्षीय अम्बर सार्कीको मृत्यु भएको हो। सो क्षेत्रमा केही दिनदेखि विद्युत् अवरुद्ध भएको थियो। ट्रान्सफर्मर मर्मतका क्रममा सार्कीलाई करेन्ट लागेको स्थानीय फणीन्द्र अधिकारीले जानकारी दिए।
सार्की पैँतालीस किलोवाट क्षमताको वाक्सुखोला तेस्रो जलविद्युत् आयोजनाको प्रविधिकका रुपमा कार्यरत थिए। प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहराले सार्कीको शव ल्याउन प्रहरी टोली पठाइएको बताए।
यसैबीच स्याङ्जाको श्रीकृष्ण गण्डकी–३ बेलटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
भिरबाट लडेर स्थानीय ८४ वर्षीय लोकनाथ बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार घाँस काट्न गएका बस्याल घर नफर्केपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए। उहाँको शव आज फेला परेको हो। रासस