PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​आर्मीलाई स्तव्ध पार्दै संकटाले जित्यो सिमरा गोल्डकपको उपाधि



पहिलोपोस्ट

​आर्मीलाई स्तव्ध पार्दै संकटाले जित्यो सिमरा गोल्डकपको उपाधि

सिमरा : त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। 

सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि उचालेको हो। 

उपाधिसंगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार रुपैयाँ नगद हात पारेको छ। उपबिजेता आर्मीले दुई लाख ५१ हजारमा चित्त बुझाएको छ। 
रोमाञ्चक फाइनलमा निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेका थिए। अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो। 

टाईब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए। संकटाका विश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक सुनील श्रीवास्तवले रोकेका थिए। 

आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके। आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाउ गरे। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाईकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्डर आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे। बिधागत रुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार नगद प्राप्त गरेका छन्। प्रतियोगिताको फेयर प्ले’को पुरस्कार एपीएफ क्लबले हात पारेको छ। 

प्रतियोगिताको बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell