PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

संस्कृत व्याकरणका रचयिता पाणिनिको तपोभूमि पणेना ओझेलमा



रासस

  • प्रेमनारायण आचार्य
अर्घाखाँची : विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमि ओझेलमा परेको छ।

हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल मानिन्छ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै अइउण्, रिलक्, एओ आदि १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ। यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ।

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको नेपाल राष्ट्रिय माविका प्राचार्य पुष्कर पोख्रेलले बताए।

यो तपोभूमि अर्घाखाँचीको पूर्वमा रहेको पणेना गाविसमा पर्छ। सो तपोभूमिबाट उत्तर फर्कंदा हिमशृङ्खला र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ। अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुन सक्छ। यो क्षेत्र पाणिनि ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासिन्दा तथा जिविसका पूर्वसभापति खगेन्द्रराज पोख्रेलले बताए।

यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके अर्घाखाँचीलगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घसंस्थाबाट सहयोग पाए आफूहरु तीव्र भएर लाग्ने स्थानीयवासी नारायण पोख्रेलले बताए हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ। यहाँका मन्दिर र पौवा जीर्ण हुने अवस्थामा छन्।

पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन्। पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell